काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै जाँदा जिपिए ४ ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढेको छ ।
बोर्डले निर्धारण गरेको ग्रेडअनुसार जिपिए ४ लाई सबैभन्दा उच्च मानिन्छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार २०८२ सालको एसइईमा एक हजार ५९५ जनाले जिपिए ४ ल्याएका छन् । बोर्डका अनुसार २०८१ सालको एसइईमा नौ सय ७१ जनाले मात्रै जिपिए ४ ल्याएका थिए ।
यस वर्षको समग्र नतिजा पनि गत वर्षको तुलनामा सुधारिएको छ । यस वर्ष ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण अर्थात् ‘ग्रेडेड’ समूहमा परेका छन् । २०८१ सालको एसइईमा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए भने २०८० सालमा ४८ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए । पछिल्ला तथ्याङ्कले एसइई नतिजामा निरन्तर सुधार देखाएका छन् ।
पछिल्ला वर्षमा बोर्डले एसइई उत्तीर्ण हुन सैद्धान्तिक र प्रयोगात्मक दुवै परीक्षामा पूर्णाङ्कको न्यूनतम ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था लागू गरेको छ । यसअघि सैद्धान्तिक र प्रयोगात्मक अङ्क जोडेर एकीकृत नतिजा सार्वजनिक गरिन्थ्यो ।
यसका कारण ७५ पूर्णाङ्कको सैद्धान्तिक परीक्षामा न्यूनतम २० अङ्क ल्याउने विद्यार्थीले पनि २५ पूर्णाङ्कको प्रयोगात्मक खण्डबाट प्राप्त अङ्क जोड्दा सहजै उत्तीर्ण हुने अवस्था थियो । प्रयोगात्मक परीक्षामा अधिकांश विद्यार्थीले उच्च अङ्क प्राप्त गर्ने गरेका कारण यस्तो सम्भव हुन्थ्यो ।
दुवै खण्डमा न्यूनतम अङ्कको व्यवस्था लागू भएपछि विद्यार्थीमा अध्ययनप्रति मेहनत गर्ने बानी विकास भएको र त्यसले समग्र नतिजामा सुधार ल्याएको सरोकारवालाको भनाइ छ ।
त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले पछिल्ला वर्षमा विद्यार्थीको मेहनत बढेकाले एसइई नतिजामा सुधार आएको बताए ।
बोर्डले एसइई नतिजा वैशाख २८ गते सार्वजनिक गरेको थियो । परीक्षा सकिएको २९ दिनमै सार्वजनिक गरिएको यो नतिजा एसइई तथा एसएलसीको इतिहासमै सबैभन्दा छोटो समयमा सार्वजनिक भएको नतिजामध्ये एक हो ।
बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा कुल चार लाख ३० हजार ६६७ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ८४ हजार १६० जना उत्तीर्ण अर्थात् ‘ग्रेडेड’ समूहमा परेका छन् भने एक लाख ४६ हजार ५०७ जना अनुत्तीर्ण अर्थात् ‘नन–ग्रेडेड’ समूहमा परेका छन् ।
पुनर्योगका लागि निवेदन बढ्दै
एसइई नतिजामा चित्त नबुझेका परीक्षार्थीका लागि शुक्रबारदेखि पुनर्योगको निवेदन लिन सुरु गरिएको छ । बोर्डले पुनर्योगका लागि जेठ ७ गतेसम्मको समय तोकेको छ ।
बोर्डका अनुसार पहिलो दिन शुक्रबार बेलुका ५ बजेसम्म करिब पाँच हजार जनाले निवेदन दिएका छन् । पुनर्योगका लागि चौबिसै घण्टा अनलाइनबाट पनि निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
पुनर्योगपछि प्राप्त नतिजामा पनि चित्त नबुझे परीक्षार्थीले उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिन सक्नेछन् ।
बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार पुनः परीक्षणपछि पनि चित्त नबुझे उत्तरपुस्तिका फेरि परीक्षण गराउन सकिने व्यवस्था छ । उत्तरपुस्तिका पुनः परीक्षण गराउन चाहनेले पुनर्योगका लागि तोकिएको अवधिमै निवेदन दिनुपर्नेछ ।


















