शिक्षादीप कलेज मा कक्षा ११ विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको उल्लेखनीय भिड देखिएको छ । प्रदेशकै अग्रणी शैक्षिक गन्तव्यको रूपमा स्थापित कलेजले आज लिएको प्रवेश परीक्षामा क्षमताभन्दा झण्डै तीन गुणा बढी विद्यार्थी सहभागी भएका हुन् ।

कलेजले यस शैक्षिक सत्रका लागि विज्ञान संकायतर्फ ८ सय सिट निर्धारण गरेको भए पनि प्रवेश परीक्षामा कोशी प्रदेशका १४ वटै जिल्लाका साथै मधेश प्रदेशबाट समेत ठूलो संख्यामा विद्यार्थी सहभागी भएको कलेज प्रशासनले जनाएको छ ।

कलेजका निर्देशक भूपेन्द्र दाहाल का अनुसार शिक्षादीपप्रतिको विद्यार्थी र अभिभावकको विश्वासका कारण हरेक वर्ष आकर्षण बढ्दो क्रममा छ । “सीमित कोटा भए पनि विद्यार्थीको उत्साह र आकर्षण लोभलाग्दो देखिएको छ,” उनले भने, “यो केवल भीड होइन, विगतमा कलेजले दिएको उत्कृष्ट नतिजाप्रतिको भरोसा पनि हो ।”

विज्ञान शिक्षामा उत्कृष्ट नतिजा दिँदै आएको शिक्षादीप कलेज प्रदेशकै ‘मोडल’ कलेजका रूपमा परिचित छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरूले हरेक वर्ष चिकित्सा, मेडिकल तथा इन्जिनियरिङ प्रवेश परीक्षामा उत्कृष्ट सफलता हासिल गर्दै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुँदै आएका छन् । कलेजको शैक्षिक अनुशासन, दक्ष शिक्षक टोली र परिणाममुखी शिक्षण पद्धतिका कारण विद्यार्थीको रोजाइमा शिक्षादीप पर्न थालेको बताइन्छ ।

निर्देशक दाहालले कलेजले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी भविष्यका दक्ष डाक्टर, इन्जिनियर तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अध्यापन गरिरहेको बताए । उनले आधुनिक प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा तथा शैक्षिक वातावरणमा निरन्तर लगानी गरिएकाले पनि कलेजप्रति आकर्षण बढेको उल्लेख गरे ।

आज सम्पन्न प्रवेश परीक्षाको नतिजा योग्यताक्रमका आधारमा छिट्टै प्रकाशन गरिने र त्यसपछि भर्ना प्रक्रिया अगाडि बढाइने कलेज प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया