बुढीगंगा गाउँपालिका / बुढीगंगा गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक सत्र २०८२ को SEE नतिजा सार्वजनिक हुँदा जनप्रिय माध्यमिक विद्यालय को नतिजा सबैभन्दा कमजोर देखिएको छ । विद्यालयको कमजोर प्रदर्शनपछि स्थानीय अभिभावक, विद्यार्थी तथा शिक्षा सरोकारवालामाझ गम्भीर चासो र बहस सुरु भएको छ ।

प्राप्त विवरणअनुसार जनप्रिय माविबाट SEE परीक्षामा सहभागी १७ जना विद्यार्थीमध्ये ७ जना मात्र ग्रेडेड हुन सफल भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत ४१ रहेको छ भने औसत GPA २.९८ कायम भएको छ । गाउँपालिकाभित्रका अन्य विद्यालयको तुलनामा यो नतिजा निकै कमजोर रहेको देखिन्छ ।

यसै गाउँपालिकाका युनिक एकाडेमी, जेभियर्स इ स्कुल, हरिततारा एकाडेमी र स्मृती इ.स्कुल ले शतप्रतिशत नतिजा ल्याएका छन् । जेभियर्स इ स्कुलले ४ GPA सहित उत्कृष्ट नतिजा हासिल गरेको छ भने हरिततारा एकाडेमी र मोरङ पब्लिक इङ्लिस स्कुलले ३.९५ GPA प्राप्त गरेका छन् ।

यता जनप्रिय माविको कमजोर नतिजापछि विद्यालयको पठनपाठन प्रणाली, शैक्षिक वातावरण, शिक्षकको कार्यसम्पादन तथा विद्यार्थीमाथिको निगरानीबारे प्रश्न उठ्न थालेको छ । स्थानीय अभिभावकहरूले विद्यालयमा नियमित र प्रभावकारी कक्षा सञ्चालन नभएको, कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग नदिइएको तथा शिक्षकको पर्याप्त जिम्मेवारी नदेखिएको गुनासो गरेका छन् ।

“विद्यालयको नतिजा केवल अंकको विषय होइन, यो विद्यार्थीको भविष्यसँग जोडिएको सवाल हो,” एक अभिभावकले प्रतिक्रिया दिए ।

शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले नतिजा कमजोर हुनुको वास्तविक कारण पहिचान गरी तत्काल सुधार योजना लागू गर्नुपर्ने बताएका छन् । उनीहरूले बुढीगंगा गाउँपालिका शिक्षा शाखा ले विद्यालयको शैक्षिक अवस्था, शिक्षकको कार्यसम्पादन, नियमित पठनपाठन तथा व्यवस्थापन पक्षबारे गम्भीर अनुगमन गर्नुपर्ने माग गरेका छन् ।

विद्यालय प्रशासनले पनि आत्मसमीक्षा गर्दै आगामी दिनमा पठनपाठनलाई थप प्रभावकारी बनाउने, कमजोर विद्यार्थीलाई लक्षित विशेष कक्षा सञ्चालन गर्ने तथा अभिभावकसँग समन्वय बढाउनेतर्फ कदम चाल्नुपर्ने देखिएको छ ।

बुढीगंगा गाउँपालिकाको समग्र SEE नतिजा ७६.५१ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया