सुनसरी / रामधुनी नगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा, झुम्काले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष नगरभित्रका सामुदायिक विद्यालयहरूको समग्र उत्तीर्ण प्रतिशत ४१.११ रहेको छ ।

प्रकाशित नतिजाअनुसार नगरपालिकाकाे नमुना विद्यालय आदर्श माध्यमिक विद्यालयले सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको छ । उक्त विद्यालयबाट परीक्षामा सहभागी ६३ विद्यार्थीमध्ये ५२ जना उत्तीर्ण भएका छन् । त्यसैगरी चन्द्रकमल माध्यमिक विद्यालयबाट सहभागी ४६ जनामध्ये ३० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यता जनता माध्यमिक विद्यालयबाट १०१ विद्यार्थी सहभागी हुँदा २८ जना मात्र उत्तीर्ण भएका छन् भने भा.सि. माध्यमिक विद्यालयबाट सहभागी २९ जनामध्ये ९ जना उत्तीर्ण भएका छन् ।

रामधुनी माध्यमिक विद्यालयबाट ४२ विद्यार्थी सहभागी भएकामा ३ जना मात्र उत्तीर्ण भएका छन् । शनिश्चरे माध्यमिक विद्यालयबाट २२ जनामध्ये ३ जना उत्तीर्ण हुँदा शिवनगर माध्यमिक विद्यालयबाट सहभागी १० विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन् ।

नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार केही विद्यालयको नतिजा अत्यन्त कमजोर देखिएको छ भने केही विद्यालयले उत्साहजनक सफलता हासिल गरेका छन् । कमजोर नतिजा आएका विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न आवश्यक पहल गर्नुपर्ने स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाले बताएका छन् ।

नगर शिक्षा शाखाले विद्यालयस्तरीय सिकाइ उपलब्धि, शिक्षक व्यवस्थापन तथा विद्यार्थीको नियमित अध्ययन अवस्थाबारे थप समीक्षा गर्दै आगामी शैक्षिक सत्रमा नतिजा सुधारका लागि विशेष योजना अघि बढाइने जनाएको छ ।

तपाईको प्रतिक्रिया