विराटनगर / शैक्षिक गुणस्तर, उत्कृष्ट परीक्षाफल र अनुशासित अध्ययन वातावरणका कारण विराटनगरस्थित मेरिल्याण्ड कलेजप्रति विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको छ । कक्षा ११ मा नयाँ भर्नाका लागि सोमबार लिइएको प्रवेश परीक्षामा अपेक्षाभन्दा धेरै विद्यार्थी सहभागी भएपछि कलेज प्रशासन उत्साहित बनेको छ ।

कलेजका अनुसार विज्ञान र व्यवस्थापन संकायमा गरी उपलब्ध १ हजार सिटका लागि २ हजार १ सयभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विज्ञान संकायमा ३ सय र व्यवस्थापन संकायमा ७ सय सिट तोकिएको भए पनि आवेदन संख्या दोब्बरभन्दा बढी पुगेको हो ।

विशेषगरी कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थी तथा अभिभावकको आकर्षण उच्च देखिएको कलेजले जनाएको छ । पछिल्ला वर्षहरूमा उत्कृष्ट नतिजा, दक्ष शिक्षक टोली, प्रविधिमैत्री शिक्षण प्रणाली र प्रतिस्पर्धी शैक्षिक वातावरणका कारण मेरिल्याण्ड रोजाइमा परेको अभिभावकहरु बताउँछन् ।

कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले अपेक्षाभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षा दिएको बताए । ‘विद्यार्थी र अभिभावकले मेरिल्याण्डमाथि देखाएको विश्वास हाम्रो लागि ठूलो जिम्मेवारी पनि हो,’ उनले भने, ‘गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अघि बढेकाले आकर्षण निरन्तर बढिरहेको छ । आगामी दिनमा अझ आधुनिक र प्रतिस्पर्धी शिक्षण वातावरण निर्माण गर्ने दिशामा कलेज प्रतिबद्ध छ ।’

उनका अनुसार कलेजले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, करिअर काउन्सिलिङ, प्रयोगात्मक शिक्षण र डिजिटल लर्निङ प्रणालीलाई पनि प्राथमिकतामा राख्दै आएको छ । यही कारण विद्यार्थीको रोजाइमा मेरिल्याण्ड अग्रस्थानमा रहँदै आएको उनले बताए ।

विभिन्न संघसंस्था तथा शैक्षिक निकायले सार्वजनिक गर्ने मूल्यांकनमा पनि मेरिल्याण्ड निरन्तर उत्कृष्ट कलेजको सूचीमा पर्दै आएको छ । केही समयअघि फोकस नेपालले पछिल्ला चार वर्षको परीक्षाफलका आधारमा गरेको सर्वेक्षणमा मेरिल्याण्ड देशकै उत्कृष्ट १० कलेजभित्र पर्न सफल भएको थियो ।

शिक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच मेरिल्याण्डले कायम गरेको शैक्षिक साख र व्यवस्थापन क्षमताले आगामी शैक्षिक सत्रमा पनि विद्यार्थीको आकर्षण थप बढ्ने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया