बेलबारी । निर्वाचन आयोगले आफू निर्वाचित भएको राजनीतिक दल त्याग गरी अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूमाथि कारबाही गर्दै देशभरका ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ।
आयोगले सूचना प्रकाशित गर्दै कोशी प्रदेशका ५ सहित देशभरका ८ वडाध्यक्ष पदमुक्त भएको जानकारी दिएको हो। पदमुक्त हुनेमध्ये मोरङको लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन । (एमाले) बाट निर्वाचित श्रेष्ठले दल परित्याग गरी अन्य राजनीतिक दलमा आबद्ध भएपछि उनको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।
आयोगको निर्णयसँगै लेटाङ–४ को वडाध्यक्ष पद अब रिक्त भएको छ भने उक्त वडामा नयाँ नेतृत्व चयनका लागि उपनिर्वाचनको बाटो खुलेको छ। मोरङकै रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेश कुमार खनाल पनि पदमुक्त भएका छन्। त्यस्तै, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ का कमल बहादुर बानियाँ, वडा नं। ६ का कमल तामाङ र चम्पादेवी गाउँपालिका–७ का सुरेश कुमार थापाको पदसमेत रिक्त भएको छ। स्थानीय तह निर्वाचन ऐनअनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्यागेमा उनको पद स्वतः समाप्त हुने व्यवस्था रहेको छ।























