गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको मुख्य रोजाइ बन्न थालेको छ। करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको छ।
तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी मौसम सुरु भएसँगै यहाँ आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सामान्य दिनमा दैनिक पाँच सयभन्दा बढी पर्यटक आउने गरेकोमा अहिले दैनिक २५ सयभन्दा बढी पर्यटक गर्मी छल्न यहाँ पुग्ने गरेका छन्।
उनका अनुसार यहाँ आउने पर्यटकमध्ये करिब ४० प्रतिशत सीमावर्ती भारतीय सहरहरूबाट आउने गरेका छन्। अत्यधिक गर्मी बढेपछि सिरहा र सप्तरीका तराई क्षेत्रबाट पनि पर्यटकको आगमन बढेको छ।
गर्मीबाट राहत पाउन पर्यटकहरू यहाँ रहेका पोखरी र बोटिङतर्फ बढी आकर्षित हुने गरेका छन्। तालतलैयाभित्र छ वटा पोखरी रहेका छन्। पर्यटकको मनोरञ्जनका लागि व्यवस्थापन समितिले दुईवटा मोटरबोट सञ्चालनमा ल्याएको छ, जहाँ शीतल हावा खाँदै जलयात्राको आनन्द लिन सकिन्छ।
मोरङको कानेपोखरीबाट साथीहरूसहित घुम्न आएकी रविना थापाले फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, चिडियाखाना र छहारीयुक्त फूलबारीका कारण गर्मी तथा बिदाको समय बिताउन आफूहरू यहाँ आउने गरेको बताइन्।
“प्रायः गर्मी छल्न हामी भेडेटार जाने गर्थ्यौँ, तर यहाँ बोटिङको सुविधा भएपछि यतै घुम्न आउने योजना बनाएर आएका हौँ,” उनले भनिन्।
गर्मीमा शीतल छहारी खोज्दै आउने पर्यटकका लागि तालतलैयाभित्र दर्जनौँ चौतारा, बगैँचा र नर्सरी निर्माण गरिएका छन्। यसबाहेक यहाँको मुख्य आकर्षण चिडियाखाना पनि हो, जहाँ दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा र बाँदरजस्ता वन्यजन्तु अवलोकन गर्न सकिन्छ।
बालबालिकाका लागि चिल्ड्रेन पार्क र वाटर फाउन्टेन (पानीको फोहोरा) समेत रहेकाले विद्यालय बिदाका दिन अभिभावकहरूले आफ्ना छोराछोरीलाई शीतल वातावरणमा खेलाउन यहाँ ल्याउने गरेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको ८५ लाख रुपैयाँ बजेटबाट यहाँ थप पर्यटकमैत्री संरचना, आधुनिक शौचालय तथा चिडियाखानाको स्तरोन्नति गरिएको व्यवस्थापन समितिले जनाएको छ।
तालतलैयामा पर्यटकको चहलपहल बढेसँगै स्थानीय साना व्यवसायीहरू पनि उत्साहित बनेका छन्। स्थानीय व्यवसायी इन्दु राणाले गर्मी बढेसँगै घुम्न आउने पर्यटकको संख्या बढेकाले व्यापार राम्रो भएको बताइन्।
“विशेषगरी चटपटे, मःम, चाउमिन र चिसो पेय पदार्थको बिक्री बढी हुने गरेको छ,” उनले भनिन्।
सङ्घीय र प्रदेश सरकारको सहयोगमा यहाँका विभिन्न भौतिक संरचनाको जीर्णोद्धार, जनावरका बासस्थानको संरक्षण तथा कलात्मक मूर्तिहरू निर्माण गरिएका छन्। तालतलैयामा एकैपटक ७० भन्दा बढी समूहले वनभोज (पिकनिक) गर्न सक्ने क्षमता रहेको छ।
पूर्वी नेपालकै प्रमुख मनोरञ्जन तथा पिकनिक गन्तव्यका रूपमा विकसित हुँदै गएको तालतलैयाले स्थानीय आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।























