विराटनगर / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विराटनगरको कोसी अस्पतालमा आइतबार आकस्मिक रुपमा छड्के अनुगमन गरेको छ । प्रदेश १ कै ठूलो सरकारी स्वास्थ्य संस्थाका रुपमा रहेको यस अस्पतालमा कार्यरत चिकित्सक निजी स्वास्थ्य संस्थामा केन्द्रीत हुने गरेको जनगुनासोसँगै मन्त्रालयले अनुगमन गरेको हो । अनुगमनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत कृष्णलाल यादव आफै बिरामी बनेर पुगेका थिए । त्यस क्रममा अस्पतालको बहिरंग विभागमा ९० प्रतिशत चिकित्सक नभेटिएको जानकारी उनले दिए

यादवका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा देशैभरका सरकारी अस्पतालमा अनुगमनका लागि अलगअलग टिम खटाइएको छ । ‘अस्पतालमा आफै बिरामी बनेर अनगुमनका लागि पुगेको थिएँ,’ उनले भने, ‘तर कार्यालय समयमा ९० प्रतिशत चिकित्सक बहिरंग विभागमा भेटिएनन् ।’ यादवका अनुसार दिउँसो लगभग १ः३० बजेतिर गरिएको अनुगमनका क्रममा अस्पतालका विभिन्न विभाग पूरै खाली थिए । ‘कुनै विभागमा एक÷दुई जना चिकित्सक भेटिए,’ उनले भने, ‘प्राय सबै जसो खाली हुँदा बिरामी भने उपचारको पर्खाइमा बसिरहेका भेटिए ।’

त्यो समयमा कोसीमा कार्यरत चिकित्सक भने निजी स्वास्थ्य संस्थामा बिरामीको जाँच र उपचार गर्न व्यस्त रहेको अस्पतालका एक कर्मचारीले बताए । उनका अनुसार अनुगमन सुरु हुँदा अधिकांश चिकित्सक अस्पतालबाट बाहिर गइसकेका थिए । यादवले भरपर्दो स्वास्थ्य सेवा नभएको गुनासो बढिरहेको र चिकित्सकले सरकारी सेवा लिएर निजी स्वास्थ्य संस्थामा बढी समय दिने गरेको उजुरी मन्त्रालयमा परेको बताए । कोसी अस्पतालमा छड्के गरिएको बेला प्राप्त नतिजाले पनि यसको पुष्टि गरिदिएको उनले बताए । यादवले अस्पतालमा देखिएको बेथिती र भद्रगोल अवस्था तथा चिकित्सकको लापरबाहीका बारेमा प्रतिवेदन बनाएर मन्त्रालयमा बुझाउने बताए । ‘प्रतिबेदनकै आधारमा चिकित्सकलाई कस्तो कारबाही हुने भन्ने निर्णय हुन्छ,’ उनले भने ।

 

अस्पतालमा सरकार र अस्पताल विकास समितिबाट नियुक्ती पाएका विशेषज्ञसहित ६० जना चिकित्सक कार्यरत छन् । २५ जनालाई अस्पताल विकास समितिले नियुक्ती दिएको छ । नेपाल सरकारले १४ जनालाई कारारमा राखेको छ । उनीहरुको नियुक्ती नवीकरण भने असारदेखि भएको छैन । अस्पतालका अनुसार करारमा रहेका चिकित्सकको अवधि सकिएपछि थप गर्नका लागि असार २३ गते नै सम्बन्धीत निकायमा पत्राचार गरिएको छ । तर अहिलेसम्म १४ जना चिकित्सकको करार अवधि थपिएको छैन ।

अस्पतालमा कार्यरत चिकित्सकले बहिरंग विभागमा दैनिक बिहान ९ देखि दिउँसो २ बजेसम्म काम गर्नु पर्ने हुन्छ । तर ११ बजे आउने चिकित्सक १ नबज्दै निजी क्लिनिक पुगिसक्ने गरेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले बताए । ‘नियमको धज्जी उडाउँदै चिकित्सक निजी क्लिनिकमा जान्छन् । सरकारी तलव खाएर सेवा भने निजीमा दिन्छन्,’ उनले भने, ‘त्यस समयमा सरकारी अस्पतालमा आउने बिरामी उपचार नपाएर हैरान हुन्छन् । यसले टाढाबाट उपचारका लागि सरकारी स्वास्थ्य सेवा लिन आएका आर्थिक अवस्था कमजोर भएकाहरु बढीमा मारमा परिरहेका छन् ।’

ढुँगेलले स्वास्थ्य उपचारमा सहुलियत हुँदाहुँदै सरकारी अस्पतालमा चिकित्सक नभेटिँदा बिरामी निराश बनेर निजी क्लिनिक र स्वास्थ्य संस्थामा महँगो पैसा तिरेर उपचार गराउन बाध्य हुनु परिरहेको बताए । अस्पतालमा दैनिक एक हजार दुई सय जना भन्दा बढी बिरामी उपचार र स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले अस्पतालको केही विभागमा दरबन्दी अनुसार चिकित्सकको पदपूर्ति हुन नसक्दा पनि सेवा प्रवाहमा केही समस्या हुने गरेको बताए । उनले तोकिएको समयमा नभेटिनु चिकित्सकको कमजोरी रहेको पनि बताए । भने, ‘उपचार गराउने बिरामी धेरै नभएकाले पनि भएका बिरामी हेरेर चिकित्सकहरु बाहिर निस्किएका हुन सक्छन् ।’ डा. पोखरेलले आगामी दिनमा चिकित्सकमाथि निगरानी बढाइने र अस्पतालबाट प्रवाह हुने सेवालाई थप चुस्तदुरुस्त बनाइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया