उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार विहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले च्यातिएको एउटा र ३९ वटा नक्कली हजारका नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएको हो ।

मंगलबार साँझ सिवाई बजारको नैनादेवी चौधरीको पसलमा १ सय ४० रुपैयाको दैनिक उपभोग्य वस्तु खरीद गरेपछि नक्कली हजारको नोट दियो । पसलेले चेन्ज छैन भनेपछि फिर्ता गरेको थियो । त्यस लगतै सोही नक्कली नोट पर्वत गुप्ताको पसलमा रिचार्ज कार्ड लिने बेला दियो । यो त होइन भन्दै आफैले हजारको नक्कली नोट च्यातेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढामगरले जानकारी दिए ।

मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा घरमा राखिएको हजार दरका थप ३९ हजार रुपैया समेत बरामद गरेको छ । नक्कली नोट ल्याएर दिने जिल्ला बाहिरका व्यक्ति रहेकोले अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया