बिराटनगर, २३ साउन । रुखबाट लड्दा छातीमा गाडिएर मुटुसम्म पुगेको बाँसको भाटो सफलतापूर्वक निकालेर नोबेल शिक्षण अस्पतालले एक बिरामीको ज्यान बचाएको छ । मोरङको पथरीशनिश्चरे–१ मुन्धुम चौककी ३८ बर्षीया लक्ष्मी पोख्रेलको छातीमा गाडिएको बाँसको भाटो नोबेलले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालेको हो । 
आँप टिप्न रुखमा चढेका बेला हागो भाचिएर लड्दा उनी बाँसको चोकेमा परिन् । छातीमा गाडिएको बाँसको भाटो मुटुसम्म पुग्दा उनको अवस्था चिन्ताजनक भयो । बेहोस अवस्थामा नोबेल ल्याईएकी लक्ष्मीलाई शल्यक्रिया गरी करिव १५ सेन्टिमिटर लामो बाँसको चोके सफलतापूर्वक निकालिएको नोबेल अस्पतालका प्रोफेसर डा. काला सिंहले जानकारी दिए ।
नोबेलका प्रोफेसर डा. सिंह नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक सल्यक्रिया गरी घोचो निकालेर लक्ष्मीको ज्यान बचाएको हो । गंभिर अवस्थामा पुगेकी लक्ष्मीलाई बचाउँन नसकिने डरले आफन्तले हरेश खाईसकेका थिए । अप्रेशन सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् । मृत्युको मुखमा पुगेकी श्रीमतिलाई नोबेलले बचाएको भन्दै श्रीमान अर्जुन पोख्रेलले खुशी व्यक्त गरे ।
अप्रेशन सफल भएपछि अहिले उनी निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेकी छन् ।

तपाईको प्रतिक्रिया