बेलबारी / मोरङको बेलबारी १ मा लामो समयदेखि सुनचाँदीको कारोबार गर्दै आएका एक ब्यापारी सर्बसाधारणको करोडौ रकम ठगी गरेर बेपत्ता भएका छन । बेलबारी १ सिनेमा हल लाईनमा ऊँ कृष्ण सुनचाँदी ब्यबसाय गर्दै आएका घनश्याम श्रेष्ठ सर्बसाधारणको १५ करोड बढी रकम ठगी गरी बेपत्ता भएका हुन । ठगीमा पर्नेमा बेलबारीका प्रतिष्ठित ब्यत्तिदेखि सर्बसाधारण सम्म रहेका छन । ब्याजको प्रलोभनमा परी श्रेष्ठलाई पैसा दिएका २ सय बढी सर्बसाधारण ठगीमा परेको रहस्य खुलेको छ । ठगीमा पर्नेको संख्या दिनप्रतिदिन बढदै गएको छ ।

श्रेष्ठकोमा पैसा राख्दा आकर्षक ब्याज पाईने प्रलोभनमा आफुहरुले रुपैया राखेको पिडितहरु बताउँछन । केही महिनायता श्रेष्ठ सम्पर्कबिहिन भएपछि सर्बसाधारणहरुले आफुहरु ठगीमा परेको थाह पाएका थिए । श्रेष्ठलाई सम्पर्कमा ल्याई आफनो पैसा फिर्ता गर्न माग गर्दै केही ब्यबसायीहरुले प्रस्तावित उद्योग बाणिज्य संघ बेलबारीमा केही महिना अघि निबेदन समेत दिएका थिए । त्यसपछि श्रेष्ठलाई सम्पर्क गरी छलफलमा बोलाईएको भएपनि पटक पटक आउँछु भन्ने तर नआउने गरेको र पछिल्लो समय उनी बेपत्ता भएको संघका उपाध्यक्ष केदार अधिकारी बताउँछन ।

केहीदिनअघि २ सय बढी स्थानीयले बेलबारी नगरपालिकामा पुगी उपमेयर ढाकाकुमारी पराजुली समक्ष निबेदन समेत दिएका थिए । लेनदेन कारोबारको मुद्धा नगरपालिकाले हेर्न नमिल्ने भएपछि उनी निबेदन दर्ता नगरेको तर स्थानीय समस्या भएका कारण श्रेष्ठलाई सम्पर्क गर्ने कोशिष गरिएपनि उनी सम्पर्कमा नआएको र जिल्ला प्रशासन कार्यलय जान् आफुले सुझाएको पराजुलीले बताईन । श्रेष्ठबाट ठगिएका २ सय जनाभन्दा बढीको नाम र ठगिएको रकम सहितको बिवरण प्राप्त भएको छ । बिवरणमा २०लाख सम्म ठगिएको उल्लेख छ ।

कतिपय पिडितहरुले आफनो नाम र रकम सार्बजनिक नगरिदिन अनुरोध गरेपछि हामीले नाम र ठगिएको रकम सार्बजनिक गरेका छैनौँ । श्रेष्ठले एनएमबी बैँक लगायतका बैँकबाट समेत करोडौँ रुपैया लिएर नतिरेको पाईएको छ । ठगिएका केही ब्यत्तिहरुलाई म्यासेन्जरमा फोन गरी श्रेष्ठले आफुले रकम लिएको कुरा पत्रकार र अरुलाई नभन्नु भनेमा पैसा डुब्ने भन्दै भन्ने गरेको पिडितहरु बताउँछन । श्रैष्ठ सँग सम्पर्क गर्ने कोशिष गरिएपनि उनी सँग सम्पर्क हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया