तुलसीपुर विद्युत प्राधिकरणले बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का विपन्न परिवारलाई नि:शुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरेको छ।

प्राधिकरणका प्रमुख दिपकजंग चौधरीको अध्यक्षता र वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीको प्रमुख आतिथ्यतामा वडाका ३० जना विपन्न परिवारलाई
वडा कार्यालयले गरेको सिफारिसका आधारमा नि:शुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष वलीले विद्युत कार्यालयले विपन्न परिवारलाई नि:शुल्क मिटर बक्स वितरण गरेर सराहनीय कार्यको सुरूआत गरेको बताए। यसले गरिबका झुपडीमा पनि बिजुली बत्तीको उज्यालो पुर्याउने स्थानीय सरकारको सपना सार्थक हुने आशा उनले व्यक्त गरे।

विद्युत प्राधिकरणका प्रमुख चौधरीले उज्यालो नेपाल कार्यक्रम अन्तरगत सबैको गरिबको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रीय योजना अनुसार मिटर बक्स नि:शुल्क वितरण गरिएको जानकारी दिए। यो अभियानले विद्युत चोरी अभियानको अन्त्य हुने उनले आशा व्यक्त गरे।

तुलसीपुर क्षेत्रमा ३५ लाख बराबरको मिटर बक्स नि:शुल्क वितरण गर्दै

मंगलबारमात्रै तुलसीपुर विद्युत प्राधिकरणले तुलसीपुर उपमहानगरपालिका वडा नं. २ को सिफारिसको आधारमा त्यहाँ पुगेर २० जनालाई नि:शुल्क मिटर बक्स वितरण गरेको थियो।

यसअघि प्राधिकरणले आफ्नो कार्यक्षेत्र अन्तरगत पर्ने दंगिशरण, शान्तिनगर र बबई गाउँपालिकामा नि:शुल्क मिटर बक्स वितरण सकिसकेको छ।

बुधबारसम्म कुल ४ सय ८० वटा मिटर बक्स विपन्न परिवारलाई वितरण गरी सकिएको छ। केन्द्रीय सर्कुलेसन अनुसार एउटा गाउँपालिकामा १ सय ६० वटा र उपमहानगरपालिकामा २६० वटा मिटर बक्स नि:शुल्क वितरण गर्ने अनुमति प्राप्त रहेको कार्यालयका प्रमुख दिपकजंग चौधरीले जानकारी दिए।

एउटा मिटर बक्सको मूल्य सेवा शुल्कसहित २ हजार ५ सय रुपैयाँ जति पर्छ। त्यो जडान गर्न आवश्यक तारसहित सबै जोडेर एउटा मिटरबक्सको कुल ४ हजार २ सयदेखि ४ हजार ५ सयसम्म पर्ने प्रमुख चौधरीले बताए।
‘हामीले एउटा मिटर बक्सको लगभग ५० मिटरको दरले तार लाग्ने गरी हिसाब निकालेका छौं,’ प्रमुख चौधरीले भने, ‘कतै त ५/७ सय मिटरसम्म तार तान्नु परेको अवस्था छ।’

तुलसीपुर विद्युत प्राधिकरणले कुल ७ सय २० वटा मिटर बक्स नि:शुल्क रूपमा वितरण गर्ने अख्तियारी पाएको र त्यसमध्ये बुधबारसम्म ४ सय ८० वटा वितरण भइसकेको चौधरीले जानकारी दिए।

‘पहिला हामी गाउँपालिकाका विकट बस्तीमा वितरण गर्न लाग्यौं। त्यता सिध्याएर अब उपमहानगरपालिकाभित्र आएका छौं। सकभर यही महिनामा वितरण गरेर सक्ने प्रयास हुनेछ,’चौधरीले भने।

त्यस्तै, उनले हालसम्म झन्डै २५ लाख मूल्य बराबरको मिटर बक्स वितरण गरिएको जानकारी दिए। सबै गरेर ३५ लाख मूल्य बराबरको मिटर बक्स जडान गर्ने अख्तियारी तुलसीपु्र विद्युत प्राधिकरणलाई रहेको उनले बताए।

तपाईको प्रतिक्रिया