लहान / विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो ।
गत आव ०७३÷७४ सम्म ३८ दशमलव ९३ प्रतिशत विद्युत् चुहावट हुँदै आएकोमा आर्थिक बर्ष ०७४÷०७५ मा विद्युत्् चुहावट ३४ दशमलव ८८ प्रतिशत झेरेको र आव ०७५÷७६ सकिँदा विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।
यस्तै आव ०७५÷७६ मा विद्युत्को महसुल नबुझाउने ४४९ जना ग्राहकको विद्युत् लाइन काट्दा रु एक करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको प्रमुख यादवको भनाइ छ ।
त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ५३७ जनालाई पक्राउ गरी जरिवानाबापत रु ६७ लाख ८० हजार ११५ राजश्व सङ्कलन भएको जनाएको छ ।
सो क्रममा ४४३ थान विद्युत् उपकरणसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । त्यस्तै विद्युत् मिटरबाट विद्युत् चोरी गर्ने १५ जनामाथि कारवाही गरी रु २१ लाख १७ हजार ६३३ राजश्व सङ्कलन गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ ।