यहाँस्थित माइती नेपालमा आफन्त खोजीको निवेदन दिनेको सङ्ख्या विगत नौ महीनाको अवधिमा ५०० भन्दा बढी पुगेको छ । त्यसमध्ये १३६ को सकुशल र यौन शोषणमा परेका ५७ जनाको उद्धार गरिएको छ । यसअघि दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यसअघि पनि तीन महिलाको उद्धार दिल्लीबाटै भएको थियो भने जोखिमपूर्ण यात्रामा रहेका ३५१ लाई बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो ।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारिरीक, मानसिक तथा यौन शोषण भएको पाइएको छ । “बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले गैरकानूनीरूपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ”, संयोजक कोइरालाको भनाइ छ ।
कामको प्रलोभनमा गैरकानूनीरूपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार सङ्ख्यासमेत बढेको छ ।
राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई गैरकानूनीरूपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उहाँको भनाइ छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट समेत फिर्ता पठाउने गरेको छ ।
मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्यानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ ।
यसका साथै, जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्धार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाहरुको पुनःस्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार, पुनःस्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले बताउनुभयो ।