लकडाउनका कारण कुनै पनि हास्य टेलिश्रृंखलाको अहिले छायांकन हुन सकेको छैन त्यसैले टेलिभिजनमा पुराना एपिसोडहरु नै प्रशारण भइरहेका छन् ।

तर, हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ले आफ्नै घरभित्र कमेडी सिरिज बनाउन सुरु गरेका छन् । उनले निर्देशन र अभिनय गर्ने ‘हल्का रमाइलो’ को छायांकन हुन नसक्दा उनी घरबाटै ‘लकडाउन’ सिरिज लिएर दर्शकमाझ आएका हुन् ।

लकडाउनको समयमा घरमा नै थुनिएर बसेका बल्छीले यो सिरिजमा आफ्नी श्रीमतीलाई पनि अभिनय गराएका छन् । यसमा उनीहरु श्रीमान–श्रीमतीकै भूमिकामा छन् ।

बल्छी भन्छन्, ‘लकडाउनको समय घर बस्दा–बस्दा दिक्क भइयो । यो फुर्सदको समय पनि किन खेर फाल्ने भनेर लकडाउनको विषयमा नै केही बनाउने सोच आएरसुरु गरेको हुँ ।’ बल्छीले आफ्नै युट्युब च्यानलबाट ‘लकडाउन’ अपलोड गर्छन् । यसबाट उनलाई केही आम्दानी पनि भइरहेको छ ।

बल्छीको श्रीमती करुणा कलाकार होइनन् । सुरुमा उनले यसमा अभिनय गर्न मानेकी थिइनन् । बल्छीले नै फकाएर उनलाई अभिनय गराए । र, करुणाको काम चित्तबुझ्दो नै रहेको बल्छीले बताए ।

कमेडी सिरियलको खडेरीका बेला बल्छीको लकडाउनलाई दर्शकले रुचाएका छन् । भ्युज र दर्शक प्रतिकृया पनि राम्रो छ । बल्छीले यति सफल होला भन्ने सोचेका थिएनन् ।

उनले भने, ‘बोर भएर बस्नुभएको दर्शकले मनोरञ्जन लिनुहुन्छ भन्ने आशा थियो । तर, यत्तिको रुचाउनु हुन्छ भन्ने थिएन । दर्शकप्रति म नतमस्तक नै छु ।’

‘लकडाउन’लाई ‘हल्का रमाइलो’ खिच्ने उज्ववल खड्काले नै खिचिरहेका छन् भने सम्पादक रविन भट्टले, दुवैको पनि घर पनि नजिकै भएकाले झन् सजिलो भएको बताए । लकडाउन रहुञ्जेल आफ्नो कमेडी सिरिज हरेक साता दुई भाग युट्युबमा सार्वजनिक हुने बल्छीले बताए ।

 

तपाईको प्रतिक्रिया