रुकुमपूर्व / यतिबेला रुकुमपूर्व स्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् ।

जहाँ एक वडामा पनि वडासचिव छैनन् । सबै वडा खाली छन् । गाउँपालिकामा पहिले एक मात्र वडासचिव रहेका र एक जनाले वडा नं १० र ११ मा काम गर्दै आएका थिए । भएका एक सचिव पनि समायोजन भएर गएपछि गाउँपालिका नै वडासचिवविहीन बनेको हो । सडकको विस्तार नभइसकेको सो गाउँपालिकाको एउटा वडा कार्यालयबाट अर्को वडा कार्यालयमा पुग्न एकदेखि दुई दिन लाग्ने गर्दछ । भएका कर्मचारी पनि समायोजन भएर गएको तर समायोजन भएर गाउँपालिकामा कोही नआएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले बताए । गाउँपालिकामा कर्मचारीको खडेरी भएपछि कार्यसम्पादनमा अफ्ठ्यारो भएको उनले बताए ।

कर्मचारी नभएपछि अहिले वडा कार्यालयमा वडा सचिवको काम स्वास्थ्यचौकी ईन्चार्ज मार्फत भईरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । साविकका गाविसमा रहेका स्वास्थ्यचौकी ईन्चार्जले साविकका गाविसअन्तर्गत अहिले जती पनि वडा समेटिएका छन् तीनै वडा हेर्ने जिम्मा दिइएको उनले जानकारी दिए । साविकका छ वटा गाविस मिलेर बनेको गाउँपालिकामा छ स्वास्थ्यचौकी रहेका र छ जना स्वास्थ्यचौकी ईन्चार्जले वडा सचिवको काम गरिरहेका उपाध्यक्ष शाहीले बताए ।

सङ्घीयताले जन्माएको नेपालको कान्छो जिल्ला रुकुम (पूर्व) प्रदेश नं ५ को एक मात्र हिमाली र आफैँमा दुर्गम जिल्ला हो । तीन गाउँपालिकामा गरी जम्मा ३१ वडा छन् । तीमध्ये सात वडामा मात्र वडासचिव छन् । बाँकी २४ वडामा वडासचिव छैनन् । वडासचिव नहुँदा वडाबाट हुने दैनिक कामकाजमा समस्या हुने गरेको छ ।

तपाईको प्रतिक्रिया