
सरकारको मार्गनिर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरणले आगामी तीन वर्षभित्र प्रत्येक घरधुरीमा बिद्युतको पहुँच पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भित्र मुलुकभरका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने उदघोष गरेका छन् । उनले भने, ‘हामीले सन् २०२२ सम्म सम्पर्ण नेपाली जनताको घरदैलोमा विद्युत् सेवा पुयाउने योजनासहित काम गरिरहेका छौं, अहिले धमाधम काम भइरहेको छ।’
प्राधिकरणको कुल ग्राहक संख्या ३९ लाख १० हजार पुगेको छ। प्राधिकरणका अनुसार सामुदायिक संस्था र बुटबल पावर कम्पनी अन्तर्गतका ग्राहकसमेत जोड्दा करिब ७८ प्रतिशत जनसंख्यामा राष्ट्रिय विद्युत् प्रणालीको ग्रिड पुगेको छ। अझै २२ प्रतिशत नेपालीको पहुँचमा बिजुली पुगेको छैन। प्राधिकरणले गत आर्थिक वर्षमा मनाङ, सोलुखुम्बु, बझाङ र दार्चुला जिल्लामा समेत राष्ट्रिय विद्युत् प्रणालीबाट बिजुली आपूर्ति गरेको जनाएको छ।
कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्षमा रुकुमपूर्व, कालिकोट, बाजुरा र जुम्लामा बिजुली उपलब्ध गराउने योजनासहित काम भइरहेको बताएका छन् । ‘आगामी दुई वर्षभित्र मुगु र डोल्पामा बिजुली पुऱ्याउने लक्ष्य राखेका छौं, उनले भने, यी दुई जिल्लामा विद्युतीकरण गरिसकेपछि हुम्लालाई प्रथामिकतामा राखेका छौं ।’ प्राधिकरणका अनुसार गत आर्थिक वर्षको तुलनामा यस बर्ष प्राधिकरणको प्रणालीमा कुल सात अर्ब ५५ करोड युनिट बराबर विद्युत् उपलब्ध भएको छ।
प्रधिकरणले कार्य सञ्चालन दक्षता अभिवृद्धि गर्न, विद्युत् चुहावट न्यूनीकरण गर्न तथा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै आएको जनाएको छ। स्मार्ट मिटर तथा स्मार्ट ग्रिड प्रविधिको जडान गरी प्रणालीलाई स्वचालित गर्ने योजना अघि सारेका छौं, उनले भने, अनलाइन केन्द्रीकृत बिल भुक्तानी प्रणाली थप गरिनेछ। माग व्यवस्थापन तथा ऊर्जा दक्षतासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिदै उच्च विद्युत् मागको व्यवस्थापन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणको अतिरिक्त आम्दानी वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क तथा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्ने योजना छ।
निजी क्षेत्रका आयोजनाहरू सम्पन्न भई हाल सञ्चालनमा रहेका ८३ वटा आयोजनाको कुल जडित क्षमता ५६० मेगावाट उत्पादन गरिरहेका छन् । निजी क्षेत्रबाट २६ सय १३ मेगावाट बराबरको विभिन्न एक सय २० जलविद्युत् आयोजनाको आर्थिक स्रोत सुनिश्चित भई निर्माण भइरहेको छ । २८ सय ६९ मेगावाट बराबरका विभिन्न एक सय ३७ जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा रहेको प्राधिकरणले जनाएको छ।


















