विराटनगर / भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जनाको समूहलाई प्रहरीले मोरङको पथरी नगरपालिका–१ बाट नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामाथि अनुसन्धान गर्दा विराटनगरमा चोरी गर्नलाई भारतको सितामढीमा योजना बनाएर उनीहरु नेपाल छिरेको खुलेको छ । डकैती गरेपछि पक्राउ परेको गिरोहमा तीन भारतीय र चार जना नेपाली नागरिक छन् । पक्राउ पर्ने भारतीय नागरिकमा विहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र बेनीपट्टी लदौता–६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन् । त्यस्तै रौतहटको गौर नगरपालिका–३ पोखरियाका ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ का ५२ वर्षीय शेख मोहम्मद सलिफ र ४६ वर्षीय शेख अली असगर पनि पक्राउ परेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार पक्राउ परेकाहरुले डकैतीमा भारतीय नम्बर प्लेटको स्कोरपिओ पनि प्रयोग गर्ने गरेको खुलेको छ । प्रहरीले डकैतीमा प्रयोग गरिएको बीआर ३२ पीए २८३६ नम्बरको स्कोरपिओ नियन्त्रणमा लिएको छ । एसपी अधिकारीका अनुसार विराटनगरमा डकैती गरिसकेपछि सातै जना यही स्कोरपिओ गाडीमा चढेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिर्ने योजनामा थिए । त्यही योजना अनुसार भारततर्फ जाने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरेमा पुगेपछि इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारी नेत्रृत्वको टोलीले उनीहरुलाई पक्राउ गर्न सकेको हो ।
प्रहरीका अनुसार उनीहरु पछिल्लो पटक भदौ ९ गते सोमबार बिहान ८ बजे जोगवनी नाका हुँदै नेपाल छिरेको पत्ता लागेको छ । चार दिनको भन्सार तिरेर त्यही स्कोरपिओमा उनीहरु नेपाल छिरेको एसपी अधिकारीले बताए । पक्राउ परेको गिरोहले विराटनगरमा मात्रै चार पटक डकैती गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी उनले दिए ।

पछिल्लो पटक मंगलबार बिहान साढे ३ बजे सटर फुटाएर विराटनगर महानगरपालिका–७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट छ लाख रुपैयाँ र कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट पनि सटर फुटाएर चार लाख ९५ हजार रुपैयाँ डकैती गरेको उनको भनाइ छ । त्यस अघि गत साउन २३ गते बिहान विराटनगर–२ शनिहाटमा रहेको गणनायक मार्केटिङ हाउस नामक किराना पसलबाट सटर फुटाएर चार लाख तथा सटर फुटाएरै पञ्चकन्या ट्रेड लिंकबाट पाँच लाख ९५ हजार रुपैयाँ डकैती गरेको एसपी अधिकारीको भनाइ छ ।

डकैतीको पछिल्लो घटनामा प्राप्त सिसी टिभी फुजेटबाट उनीलाई पक्राउ गर्न सकिएको उनले बताए । पक्राउ परेकाहरुको साथबाट विभिन्न कम्पनीका सातवटा मोबाइल सेट, १२ जार आठ सय ५० नेपाली र ११ हजार चार सय १० भारतीय रुपैयाँ, स्कोरपिओ गाडी, एउटा नेपाली र नौवटा भारतीय सिमकार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, कम्ब्याट पेन्ट र हाफपेन्ट दुईवटा, सातवटा गाम्छा, दुईवटा तन्ना र दुईवटा तौलिया र चारवटा झोला बरामद भएको जानकारी अधिकारीले दिए ।

पक्राउ परेका सबै जनालाई प्रहरीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउन बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए । उनका अनुसार यही समूहमा रहेका भारत मधुवनीकै मोहम्मद कलाम पक्राउ परेका बेला स्कोरपिओ गाडीमा भेटिएनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार रहेका कलाम नेपालमा डकैती गर्ने घटनाको मुख्य योजनाकार हुन् ।

यो समूहले सुरक्षित, अँध्यारो, मानविय चहलपहल कम हुने स्थान तथा पैसा हुने सम्भावना भएको पसल वा व्यापारिक प्रतिष्ठानलाई लक्षित गरेर डकैतीको योजना बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी अधिकारीले भने, ‘कोही कसैले गाडी नम्बर प्रस्ट देख्न नसकुन् भनेर माटो समेत दल्ने गरेको पाइयो ।’

नयाँ मुलुकी अपराध संहिता २०७४ ले तीन जना भन्दा बढी मिलेर गरेको चोरीलाई डकैती मानेको छ । यसमा पाँचदेखि १० वर्षसम्म कैद वा १० हजारदेखि एक लाखसम्म जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया