भारतमा लम्पी भाइरसले पाँच महिनाको अवधिमा एक लाख पशुचौपाया मरेका छन्।

गत अप्रिलमा पहिलोपटक गुजरातमा देखा परेको यो रोग अहिले डेढ करोड बढी पशुचौपायामा देखिसकेको छ।

भारतमा यो रोग तीब्र फैलिरहँदा यसको जोखिम नेपालमा पनि बढेर गएको छ। किनभने अहिले भारतमा यो रोग फैलिएको ८ वटा राज्यमध्ये दुई वटा राज्य नेपालसँग सीमा जोडिएका छन्। जसमा उत्तरप्रदेश र उत्तराखण्ड छन्।

भौगोलिक हिसाब उत्तराखण्डसँग नेपालको थोरै सीमा जोडिए पनि उत्तरप्रदेशसँग भने ठूलो भाग जोडिएको छ। कतिपय ठाउँहरूमा त नेपाल र भारतको चरनस्थल नै एउटै छ। त्यसैले पनि नेपाल यो रोगको प्रत्यक्ष जोखिममा छ।

विशेषज्ञहरूका अनुसार लम्पी भाइरस भैंसीभन्दा पनि गाईमा बढी देखिएको छ। यो रोग लागेपछि मुख्य त गाईभैंसीको दुध उत्पादन क्षमतामा ह्रास आउने गर्छ।

नेपाल लाइभस्टक आयोजनाका निर्देशक डा. उमेश दाहाल यो रोग गाईभैंसीमा लागेपछि ५० प्रतिशतसम्म दुध उत्पादन घट्ने बताउँछन्। योसँगै प्रजनन समस्या आउने र कहिलेकाहीँ गर्भपतनसमेत हुने जोखिम हुन्छ।

साथै पशुचौपायाको छालाको गुणस्तरमा ह्रास आउनेदेखि तौल घट्ने र मृत्युसमेत हुनसक्दछ।

नेपालमा यो रोग नभित्रिएको भने होइन। पशु सेवा विभागकी महानिर्देशक डाक्टर सम्झनाकुमारी काफ्ले पाण्डेका अनुसार लम्पी भाइरस दुई वर्षअघि नै नेपालमा देखा परिसकेको छ।

‘नेपालमा दुई वर्ष अगाडि नै यो रोग देखिसकेको छ। तर त्यो बेला धेरै चौपायाहरू मरेन,’ उनले भनिन्। विभागकै एक अधिकारीका अनुसार गत वर्ष पनि नेपालमा लम्पी भाइरस देखिएको थियो।

विभागको तथ्यांकअनुसार गत वर्ष नेपालमा २७ हजार चौपायामा लम्पी देखिएको थियो। काठमाडौंसहित ३१ वटा जिल्लामा फैलिएको यो रोगबाट गत वर्ष ४०३ वटा चौपायाको मृत्यु भएको थियो।

यसवर्ष भने लम्पी भाइरस नेपाल भित्रिएको पुष्टि भइसकेको छैन। महानिर्देशक पाण्डेले यसवर्ष पनि नेपालमा फ्याट्टफुट्ट यो रोग देखिएको बताइन्। तर विभागसँग यसको आधिकारिक तथ्यांक भने छैन।

विभागकै सूचना अधिकारी चन्द्र ढकालले पनि भारतमा यो संक्रमण व्यापक भए  पनि नेपालमा भित्रिएको आधिकारिक जानकारी नआएको जनाए। तर छिमेकी भारतमा यो रोगले समस्या निम्त्याउँदा नेपालमा भने यसको रोकथामको लागि सरकारी पक्षबाट ठोस कदम चालिएको देखिँदैन।

लम्पीको बढी जोखिम रहेका तराईका जिल्लाहरूको अवस्था के-के छ भन्ने विभागलाई नै जानकारी छैन। महानिर्देशक पाण्डेले सरकारले लम्पीको रोकथामको लागि आवश्यक काम गरिरहेको बताइन्।

उनले लम्पीविरूद्धको खोप ल्याउनका लागि निजी क्षेत्रलाई अनुमति दिइएको पनि बताएकी छन्।

‘अहिलेसम्म खोप लगाइएको छैन तर हामीले खोप ल्याउनका लागि अनुमति दिइसकेका छौं,’ उनले भनिन्। साथै भारतबाट गाईंभैसी वैधानिक तरिकाबाट नेपाल नआउने हुँदा लम्पी भारतमा जस्तो नेपालमा फैलिने जोखिम कम रहेको छ।

यी दुई देशबीच खुला सीमा रहेका कारण त्यस्ता क्षेत्रहरूमा लम्पी भित्रिने जोखिम रहेको उल्लेख गर्दै उनले भनिन्, ‘कतिपय सीमा क्षेत्रमा हाम्रो चरिचरन क्षेत्र एउटै हुनसक्छन्। पहिले पनि त्यसरी नै सरेर लम्पी नेपाल आएको थियो।’ तर बर्खामा बढी संक्रिय हुने यो संक्रमण नेपालमा अहिलेसम्म व्यापाक नभएको हुँदा अब धेरै जोखिम नहुने उनको भनाइ छ।

उनी भन्छिन्, ‘यो जति बढी देखिनुपर्ने हो, त्यो असार, साउन र भदौ महिनामा देखिनुपर्थ्यो। अब त बर्खा पनि सकिन लाग्यो त्यसैले अब त्यति धेरै जोखिम होला जस्तो लाग्दैन।’

किसानहरूले आफ्ना चौपायाहरूको सुरक्षामा ध्यान दिनुपर्ने उनले बताइन्। त्यसका लागि चौपायाहरूको गोठ सफा राख्ने र जैविक सुरक्षाका विधिहरू पालना गर्नुपर्ने उनको सुझाव छ।

विशेषत यो रोग संक्रमित लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट सर्ने गर्छ। साथै संक्रमित गाईभैंसीहरूको ओसारपसार र चरन क्षेत्र एउटै हुँदा पनि यो रोग आपसमा सर्ने हुन्छ। योसँगै कहिलेकाहीँ प्राकृतिक र कृत्रिम गर्भाधारणबाट पनि यो रोग सर्ने गर्छ भने एउटै सुई दुइटा गाईवस्तुमा प्रयोग गर्दा नि यो रोग सर्ने गर्छ।

लम्पी भएपछि प्राय गाईभैंसीमा उच्च ज्वरो आउने गर्छ भने घाँटी र टाउकोमा गोला गिर्खाहरू देखिने गर्छ। त्यस्ता गिर्खाहरू केही समयपछि हराएर जाने पनि हुन्छ। तर कहिलेकाहीँ भने फुटेर गहिरो घाउ हुने गर्छ। यसका साथै मुख, ओठ र नाकभित्र पनि घाउ आउन सक्छ। आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने गर्छ। यस्तो लक्षणहरू देखिए जतिसक्दो छिटो भेटेरेनेरी डाक्टरलाई देखाउँपर्ने विज्ञहरू बताउँछन्।

तपाईको प्रतिक्रिया