धरान ८ को दुर्गा पथ स्थित गैरी गाउँको खहरे खोलामा एक युवक मृत फेला परेका छन् ।
खहरेमा जमेको पानीमा घोप्टो अवस्थामा मृत फेला परेका युवा सोही स्थानका अन्दाजी २६ वर्षीय रुपेश खातुन रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिएका छन् ।
खातुनलाई स्थानीयले बिहान ७ बजे तिर पानीमा घोप्टो अवस्थामा डुबिरहेको देखेका थिए । घटनास्थल नजिकै घर रहेका खातुन सानिआमासंगै बस्दै आएका थिए ।
मृतकको टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा शव फेला परेको थियो । मृतको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध र लागुऔषध प्रयोग गरी सकेपछिको लागुऔषधका खोल र सुई फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव मुचुल्का उठाएर अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरेको धरान प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया