काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको तयारी नेपाल र चीन दुवै मुलुकले तीव्र पारेका छन् । राष्ट्रपति सीको भ्रमणको तयारीस्वरूप बुधबार चीनबाट ७४७–८०० विमान रेकीका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी पुनः बेइजिङ फर्केको छ । चिनिया राष्ट्रपतिको असोज अन्तिम साता हुने नेपाल भ्रमणका लागि विमानस्थलको अवस्था अध्ययन गर्ने चिनियाँ टोली काठमाडौं आएको हो । सो रेकी टोली बुधबार नै चीन फर्केको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दिउँसो साढे १ बजे अवतरण गरेको सो विमान ३ बजेर १० मिनेटमा चीन फर्केको थियो । नेपालस्थित चिनियाँ दूतावासले समेत विमानस्थलदेखि सीको बसोबास हुने स्थान र यात्रा हुने स्थानमा विशेष चासोका साथ अध्ययन गरिरहेको परराष्ट्र स्रोतले बताएको छ । रेकी टोलीले विमानस्थलको रन वे, पार्किङ वे, भीआईपी कक्षलगायत विमानस्थलको सुरक्षा व्यवस्थापनको अध्ययन गरेको विमानस्थल स्रोतले बतायो । जसमा नेपालको सुरक्षा टोलीको समेत सहभागिता रहेको बुझिएको छ । राष्ट्रपति सीको भ्रमणको विषयमा विभिन्न अध्ययन तथा तयारी भएको भए पनि औपचारिक मितिको भने घोषणा गरिएको छैन । सुरक्षालाई ध्यानमा राखेर मिति घोषणा नगरिएको हो । उनको भ्रमणका क्रममा चिनियाँ सुरक्षाकर्मीको समेत उपस्थिति हुने छ ।

भारतको चेनईनजिकै रहेको ऐतिहासिक सहर माहाबालिपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने दोस्रो अनौपचारिक समिटिपछि उनी काठमाडौं उत्रिने सम्भावना छ । उनको भारत भ्रमण मितिसमेत सार्वजनिक गरिएको छैन । तथापि, सीको नेपाल भ्रमण तयारीका लागि केही समयअघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका थिए । त्यसैगरी त्यसको केही समयपछि चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले तीनदिने नेपाल भ्रमण गरेका थिए । सो समयमा नेकपाको स्कुल विभागले सी विचारधाराको विषयमा अन्तत्र्रिmयासमेत गरेको थियो । ताओ भ्रमण गरेको क्षेत्रमा सीको भ्रमण भएको विगतको अनुभवका कारण पनि सीको नेपाल भ्रमण निश्चित हुने अनुमान गरिएको थियो ।

यसअघि नै नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी रहेको र सो भ्रमणले दुई देशको सम्बन्धले नयाँ उचाइ लिने अभिव्यक्ति दिएका छन् । सीको नेपाल भ्रमणलाई उच्च कूटनीतिज्ञहरूले समेत विशेष चासोका साथ हेरेका छन् । २३ वर्षपछि चीन उच्चस्तरीय भ्रमण हुन लागेका कारण पनि यसलाई महŒवका साथ हेरिएको छ । नेपाल सरकारले यो वर्षलाई उच्चस्तरीय भ्रमण वर्षका रूपमा समेत व्याख्या गरेको छ । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया