काठमाडौं । बजारभाउ हस्तक्षेप, नियन्त्रण तथा अनुगमनका लागि करिब आधा दर्जन सरकारी निकाय खडा छन् । तर, यी निकायबीच प्रभावकारी समन्वय हुन सकेको छैन । हाल वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै आएको छ । तर, अनुगमन सुस्त छ । दसैंतिहारलाई लक्षित गर्दै सरकारले बजार अनुगमन कार्य तीव्र बनाएको दाबी गरे पनि सो अनुगमन प्रभावहीन भएको देखिएको छ । दसैंका मौकामा व्यापारी व्यवसायीले उपभोक्ताबाट मनपरी मूल्य लिइरहेका छन् । बजार अनुगमनको जिम्मेवार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अनुगमनको प्रभाव भएको दाबी गरे पनि उपभोक्ताले सरकरी अनुगमनको अनुभूति गर्न पाएका छैनन् ।

दसैं सुरु भएपछि व्यापारीले दैनिक उपभोग्य वस्तु, हरियो तरकारीदेखि लुगा, कपडा चुत्ताचप्पलजस्तै सबै वस्तुमा व्यापारीले मनोमानी मूल्य लिइने गरेका छन् । हरियो तरकारी व्यावसायीले विभिन्न वहानामा बोडी, सिमीलगायत हरियो तरकारी र घिउको मूल्य दोब्बर÷तेब्बर बढाएका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा नै उल्लंघन भएको बताए । ‘उपभोक्ता संरक्षण ऐनमा व्यापारीले अनिवार्य रूपमा व्यापारिक फर्म दर्ता गर्नदेखि मूल्यसूची राख्नुपर्ने व्यवस्था गरेको छ तर व्यापारीले बजार मूल्यसूची नै नराखेर उपभोक्तासँग मनपरी मूल्य लिइरहेका छन्,’ अध्यक्ष माधव तिमल्सिनाले भने ‘सबै उपभोक्ता ठगिरहेका छन् ।’ ‘संख्यात्मक रूपमा सरकारी अनुमगन भएको छ तर अनुगमन गुणस्तर छैन । सरकारी अनुगमन नै फितलो छ । ठाउँठाउँमै उपभोक्तालाई व्यापारीले ठगिरहेका छन,’ उनले भने ।

‘बिचौलियाले साता दिनमै तरकारीमा प्रतिकेजी १० देखि ६० रुपैयाँ बढाएको छन् ‘व्यापारीको मनपरीले सर्वसाधारणको भान्सा थेग्न मुस्कल हुँदासमेत सरकार भने मुकदर्शक भएर बसेको छ,’ उनले भने, ‘सरकारले बजार अकासिएको मूल्य नियन्त्रण गर्न कुनै कदम चालेको छैन ।’ अध्यक्ष माधव तिमल्सिनाका अनुसार कुनै वस्तुमा त बिचौलियाले प्रतिकेजीमै १ सय रुपैयाँसम्म मूल्य बढाएका छन् । ‘सरकारी बजार अनुमन प्रायः शून्य नै छ । यसको फाइदा व्यापारीले लिइरहेका छन्,’ मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंतिहारलाई लक्षित गर्दै काठमाडौं उपत्ययकामा मात्र दैनिक सात÷आठ टोली खटेर अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले मिडियालाई सँगै नलिएर प्रचारप्रसार नहुँदा अनुगमन प्रभावकारी नभएको देखिएको बताए ।

‘विभिन्न बाहनामा व्यापारीले हरियो तरकारीमा अस्वाभाविक मूल्य बढाउँदा बुधबार कालिमाटी र बल्खु तरकारी बजारमा अनुगमन गरेका छौं,’ उनले भने । ‘विभागबाट अनुगमन टोली तरकारी बजारमा पुग्दा व्यापारीहरूले पसल बन्द गरेर भागेका थिए । व्यापारी पसल छोडेर भागेपनि ती टोलीले १२ वटा व्यापारिक फर्मलाई अनुगमन गरेका छन् ।

तीमध्ये पाँचवटालाई कारबाही गरेका छौं,’ महानिर्देशक गौचनले भने । उनका अनुसार लत्ताकपडा, प्रशोधित पानी, खाद्यान्न, मदिरालगायत चाडपर्वमा बढी खपत हुने वस्तुको अनुगमनमा जोड दिइएको छ । विभागमा जनशक्ति कम हुँदा जनअपेक्षा अनुसार अनुगमन प्रभावकारी हुन नसकेको महानिर्देशक गौचनले भनाइ छ । विशेषगरी टोलीले अहिले बजार अनुगमनका क्रममा मूल्यसूची राखे नराखेको हेरिरहेको उनको भनाइ छ । ‘अनुगमनका क्रममा कैफियत देखिएका पसल, फर्मलाई ५ हजारदेखि ३ लाखसम्म जरिमाना गराएका छौं,’ महानिर्देशक गौचनले भने ।

साउनयता मात्र ४७० वटा व्यापारिक फर्म अनुगमन गरेको र तीमध्ये करिब २ सय व्यापारीलाई उपभोक्त संरक्षण ऐन २०७५ को मापदण्डअनुसार ५ हजारदेखि ३ लाखसम्मको जरिमाना गरेको महानिर्देशक गौचनले बताए । बुधाबार मात्र ३७ वटा ढुवानी व्यवसायीको अनुगमन गरेको र तीमध्ये ३४ वटालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको तथा तीन जनालाई ५÷५ हजार जरिमाना गरेको उनले बताए ।

खाद्य तथा गुणस्तर नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले दसैंतिहार लक्षित विशेष अनुगमन तीव्र रूपमा भइरहेको बताए । बुधाबार मात्र अनुगमनका क्रममा भैरहवा डिभिजन कार्यालय नवलपरासीको पानी उद्योगमा फोहोर पाइएको हुँदा उक्त उद्योगलाई बन्द गरेको उनले बताए । यसैगरी, उनले साउन महिनामा २७० वटा नमुना संकलन गरेको बताए । प्रवक्ता महर्जनले दसैंका लागि धेरै मानिस उपत्यका बाहिर जोन हुँदा मुख्य राजमार्गका होटल अनुगमनमा जोड दिएको बताए । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया