काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणसँगै चिनियाँ रेल काठमाडौंसम्म आउने आधार तय भएको छ । राष्ट्रपति सीको भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएसँगै नेपालीको रेल सपना साकार हुने संकेत मिलेको छ । सीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको छ । गत १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलनमा सहभागी चिनियाँ अधिकारीले रेल मार्गबारे उच्चस्तरको सहमति जरुरी रहेको बताएका थिए । त्यसको करिब ६ महिनाको अवधिमा नेपाल र चीनबीच उच्चस्तरमा सहमति जुटेको छ । नेपाली पक्षले सीको भ्रमणकै बेला रेलको लगानी ढाँचाबारे छलफल गर्ने रणनीति तय गरेको थियो ।

सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेपछि पहिलो भएका चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा नेपाली पक्षले केरुङ–काठमाडौं रेल्वेको लगानी ढाँचाबारे छलफल गर्ने तयारी गरेको थियो । सो प्रस्तावबमोजिम नै दुई देशबीच केरुङ–काठमाडौं–पोखरा लुम्बिनीसम्म रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सहमतिले नयाँ उत्साह थपेको परराष्ट्रविद् बताउँछन् ।

चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकोमा नेपालले सो रेलमार्गलाई केरुङ–काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक भएको हो । तर, अहिले नै रेल आउने समय भने यकिन हुन सकेको छैन । सम्भाव्यता अध्ययनले कति समयमा हिमालय सीमापार रेलमार्ग बन्ने खाका तय गर्नेछ । सहमतिपत्रको सात नम्बर बुँदाअन्तर्गत नेपालको भौतिक योजना तथा यातायात मन्त्रालय र जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल अन्तर–सीमा रेल परियोजनाको सम्भाव्यता अध्ययनबारे एमओयू भएको छ । चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मंसिरमा बुझाएको थियो ।

चीनका राष्ट्रपति सीले सार्वजनिक रूपमै रेल आउने अभिव्यक्ति दिनुले ठूलो महŒव राखेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई बताउँछन् । गत असारमा दुई देशबीच नेपाल–चीन सीमापार रेल्वेको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएपछि परियोजनाको विस्तृत अध्ययन ९डीपीआर०का लागि आवश्यक प्राविधिक तयारीका सम्बन्धमा दुवै पक्षबाट प्रस्तुतीकरण भएको थियो । यसैगरी, प्राविधिक र व्यवस्थापकीय कार्यहरू जतिसक्दो छिटो सम्पन्न गरी विस्तृत अध्ययन कार्य सुरु गर्ने सहमति भएको थियो । गत २ देखि ७ असारमा चीनमा भएको चिनियाँ–नेपाल रेल्वेसम्बन्धी प्राविधिक आदानप्रदान र छलफलका क्रममा सो सहमति भएको थियो ।

सरकारले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदन तयारी गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको छ । ‘काठमाडौंलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने वीरगन्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गरिनेछ,’ आर्थिक वर्ष २०७६÷७७ बजेट वक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले उल्लेख गरेका छन् । दुई वर्षभित्र निर्माण सुरु गर्ने लक्ष्य राखेको सरकारले बजेट विनियोजन गरेर रेलमार्ग निर्माणअन्तर्गतको काम अगाडि बढाउन थालेको छ । सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि रेल, मेट्रो तथा मनोरेलका लागि ७ अर्ब ७० करोड छुट्याएको छ ।

अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षणअनुसार केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन कार्य चीन सरकारको सहयोगमा सम्पन्न भई प्राप्त प्रतिवेदनमा विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढेको उल्लेख छ । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया