काठमाडौं । नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय बैठकले दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल(गोरखपुर आधाआधा लगानीमा बनाउने सहमति गरेको छ । भारतको बैंगलोरमा मंगलबार भएको बैठकले नेपालले प्रस्ताव गरे अनुरुपको सहमति जुटाएको हो । ‘आधा(आधा स्वपूँजी रहने कम्पनी स्थापना गरी व्यवसायिक मोडलमा प्रसारण लाइन बनाउन सहमति जुटेको छ,’ ऊर्जामन्त्री वर्षमान पुनले भने, ‘इनर्जी बैंकिङमा पनि धेरै सकारात्मक निर्णय भयो।’

सहमतिसँगै अन्तरदेशीय प्रसारण लाइनको महत्वपूर्ण मानिएको न्यू बुटवल(गोरखपुर प्रसारण लाइन अघि बढ्ने मन्त्री पुनले जानकारी दिए। उनका अनुसार २० प्रतिशत स्वपूँजी र ८० प्रतिशत ऋणमा प्रसारण लाइन निर्माण गर्न सहमति जुटेको हो। ‘अब आवश्यक लगानीको लागि कहाँबाट ऋण लिन उपयुक्त हुन्छ सोही अनुसार लगानी जुटाउँछौं,’ उनले भने, ‘यो परियोजनामा लगानी गर्न दातृ निकायहरु पनि तयार छन्।’

बैठकले ३ महिनाभित्र नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले संयुक्त कम्पनी स्थापना गर्ने र ६ महिनाभित्र निर्माणको लागि सहमति गर्ने निर्णय पनि गरेको छ। भारतले नेपालसँग इनर्जी बैंकिङको लागि आफ्नो अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका संशोधन गर्न सहमति जनाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

नेपालमा बढी भएको विद्युत् भारत लैजाने र नेपाललाई आवश्यक परेको बखत् पुन ल्याउने गरी नेपालले इनर्जी बैंकिङको प्रस्ताव राखेको हो। आगामी वर्षदेखि वर्षायाममा उत्पादित विद्युत् बढी हुने प्राधिकरणको प्रक्षेपण छ। यस्तै, बैठकले भारतको इनर्जी एक्सचेन्जमा प्राधिकरणलाई कारोबारको स्वीकृति दिने निर्णय गरेको छ। ‘हामी अक्टोबर महिनाभित्रै यो बजारको प्रयोग सुरु गर्ने गरी तयारी गर्छौ,’ घिसिङले भने,‘आजको निर्णय हाम्रा लागि निकै महत्वपूर्ण छ।’

बैठकले इनरुवा(पूर्णिमा, लम्की(बरेली अन्तरदेशीय प्रसारण लाइनको डीपीआर पनि स्वीकृत गरेको छ। कुशाहा(कटैया र रक्सौल(परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नतीको लागि पनि सहमति जुटेको घिसिङले जानकारी दिए। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया