विराटनगर । आगामी भदौ ११ गते हुने राधाकृष्ण रथ यात्राका अवसरमा विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनमा विशेष जोड दिएको छ। महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न अपिल गरेका छन्।

दाहालका अनुसार, रथ यात्राको क्रममा पानी, सर्बत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा संघ-संस्थाहरूले अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्नेछ। महानगरपालिकाले सेवा प्रदायकहरूलाई फोहोरलाई डस्टबिन वा बोरामा संकलन गरी सडक सरसफाईको साधनमा राख्न निर्देशन दिएको छ।

सरसफाई व्यवस्थापन शाखाका सुपरभाइजर किरण न्यौपानेले भने, “गत वर्षको सफलतालाई दोहोर्‍याउन यस वर्ष पनि सबै सरोकारवालाहरूको सक्रिय सहभागिताको अपेक्षा गरेका छौं।”

महानगरपालिकाले स्वीकृति नलिई फोहोर उत्पादन गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ। पछिल्लो वर्ष सेवा प्रदायकहरूले फोहोर नउठाउँदा महानगरको टोलीले सरसफाई गरेको थियो।

यस पटकको रथयात्रामा महानगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। सबै पक्षको सहयोगले मात्र शहरलाई स्वच्छ र सुन्दर राख्न सकिने महानगरपालिकाको विश्वास रहेको छ।

तपाईको प्रतिक्रिया