काठमाडौँ — फिल्म उद्योगमा ऋचा शर्मालाई ‘सिरियस’ कलाकारका रुपमा हेर्ने गरिन्छ । तर, ऋचा यो कुरा स्विकार गर्दिनन् । ‘म अभिनय गर्छु, यो मेरो जागिर हो,’ उनले थपिन्, ‘मानिसले आफ्नो जागिर सकेसम्म उत्कृष्ट रुपमा गर्नुपर्छ ।

मैले हरेक प्रोजेक्टमा सकेसम्म राम्रो गर्ने प्रयास मात्रै गरेकी हुँ ।’ ऋचाले दर्जनौं चलचित्रमा काम गरेकी छन् । त्यसमध्ये केही उत्कृष्ट फिल्ममा दरिएको छ । उनका केही फिल्म असफल पनि छन् । यद्यपी उनले काम गरेका हरेक फिल्मको अभिनयलाई दर्शकले रुचाएका छन् । उनीसँग रामजी ज्ञवालीले यो साता ‘पुरुषवार्ता’ गरेका थिए ।

बिहे गर्ने बेला नभएको कि भनेजस्तो पुरुष पाइएन ?
बेला हुँदैछ । समय आएपछि अवश्य होला नि ।

जीवनमा पहिलोपटक पुरुष भनेर याद गर्नुभएको व्यक्ति ?
मेरो नै बुबा हो । तर, अहिले उहाँ हुनुहुन्न ।

विशेष प्रभाव पारेको पुरुष ?
बुबा नै हो । जीवनमा धेरै सफल भएपनि सामान्य किसिमले जीवन बिताउन खोज्ने । जतिसुकै धनी भएपनि देखावटी गर्न नहुने बुबाबाट सिकेकी हुँ । अरु धेरै कुरा सिकेकी छु ।

सबैभन्दा सहयोगी पुरुष ?
जीवनमा सहयोगी पुरुष धेरै भेटेकी छु । तर, विशाल भण्डारी बढी नै सहयोगी लाग्छ । ऊ हुँदा हरेक कुरा बिर्सिन्छु ।

सबैभन्दा धेरै माया लाग्ने पुरुष ?
मेरो दिदीको छोरा । ऊ हाम्रो घरको कान्छो पुरुष सदस्य पनि हो ।

सबैभन्दा घृणा लाग्ने पुरुष ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हो । मलाई अनुहार हेर्न पनि मन पर्दैन ।

सबैभन्दा झर्को लाग्ने पुरुष ?
२–३ जना पुरुष छन्, उनीहरुको नाम नलिउँ होला ।

सपनामा आउने पुरुष ?
अहिलेसम्म कति पुरुष सपनामा आए भन्ने यादै छैन । तर, शाहिद कपुर, आमिताभ बच्चन, पारश खड्का बढी सपनामा आउने गरेका छन् ।

कल्पनामा आइरहने पुरुष ?
पुरुषहरुको कल्पना गरेर बस्ने बानी छैन ।

पहिलोपटक डेट गएको व्यक्ति ?
नाम त भन्न सक्दिनँ । अत्ति हुन्छ । ११ कक्षा पढ्दा डेट गएको याद छ ।

प्रेममा धोका दिएको पहिलो पुरुष ?
पहिलोपटकको प्रेममा मैले धोका दिएकी हुँ । नाम भन्ने हो भने बर्बाद हुन्छ ।

पहिलो पटक लभलेटर दिएको व्यक्ति ?
हामीसँगै पढ्ने साथी (सिद्धान्त) ले हो । उसले बिर्सियो कि ? तर, मैले सम्झिरहेकी छु ।

हात काटेर लभलेटर पठाउने कोही थिए ?
११–१२ पढ्दा एकजनाले त्यसरी रगतले लेटर लेखेका थिए । यो कुरा म कहिल्यै बिर्सिन्न ।

बिहेको प्रस्ताव गर्ने पहिलो पुरुष ?
एकजना अस्ट्रेलियाको युवकले ‘वील यू म्यारी मी’ भनेर प्रस्ताव गरेका थिए ।

पहिलो किस गरेको पुरुष ?
हाहा… । नाम भन्न सक्दिनँ । तर, धेरै वर्ष अघिको कुरा हो ।

बिहे गर्न मन लागेको व्यक्ति ?
जस्तो मान्छेसँग बिहे गर्न मन थियो, त्यस्तै मान्छेसँग चाँडै बिहे हुनेवाला छ । १–२ महिनामा तपाईंले मेरोप्रेमीको बारेमा थाहा पाउनुहुनेछ ।

संसारमा सबैभन्दा हृयाण्डसम लाग्ने पुरुष ?
हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो ।

सबैभन्दा मनपर्ने अभिनेता ?
विपीन कार्की । ऊ सँग काम गर्ने इक्षा छ ।

निरन्तर संवाद भइरहने पुरुष ?
खासै कोही छैन । म कमै मात्रामा पुरुषहरुसँग बोल्छु ।

सबैभन्दा मनपर्ने पुरुष नेता ?
गगन थापा ।

राम्रो ड्रेससेन्स भएको पुरुष ?
अनुप विक्रम शाही ।

गतिलो सेन्स अफ हृयुमर भएको पुरुष ?
म अहिले जोसँग डेट गरिरेको छु ।

तपाईंको हातको झापड खाएको पुरुष ?
१० वर्ष अघि होला सायद, एकजनालाई राम्रैसँग चड्कन हानेकी थिएँ ।

तपाईंलाई धम्की दिने पुरुष कोही छ ?
एकजना थियो । केही वर्ष अघि तिमी मलाई भेट्न आएनौ भने यसो उसो गर्छु भन्दै धेरै धम्की दिएको थियो । अत्ति भएपछि मैले प्रहरीमा उजुरी दिएँ । प्रहरीले ठिक पारेपछि उसले कहिल्यै सम्पर्क गरेन । रमाइलो कुरा त ऊ मभन्दा धेरै कान्छो रहेछ ।

तपाईको प्रतिक्रिया