विराटनगर । समयमा वर्षा नहुँदा कोशी प्रदेशमा धान रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरूले धान रोप्न नपाएका हुन् । वर्षा नहुँदा प्रदेशभरिको रोपाइँ गत वर्षको तुलनामा २१ प्रतिशतले घटेको छ ।
कृषि विकास निर्देशनालय कोशी प्रदेशले साउन ४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशमा हालसम्म जम्मा ६१.७९ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही समयमा ८२.६८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।
निर्देशनालयको प्रतिवेदनमा रोपाइँ घट्नुको मुख्य कारण ‘पानी कम परेका’ कारण भनिएको छ । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ, सङ्खुवासभा, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा, झापा र सुनसरी लगायतका अधिकांश जिल्लामा रोपाइँ कम हुनुको कारण ‘पानी कम परेर’ उल्लेख छ ।
तराईका धान उत्पादनका मुख्य पकेट क्षेत्र मानिने झापा, मोरङ र सुनसरीमा समेत पर्याप्त वर्षा नहुँदा खेतहरू बाँझै छन् । मोरङमा जम्मा ५० प्रतिशत र झापामा ६८।६० प्रतिशत मात्र रोपाइँ भएको छ । जुन चिन्ताजनक अवस्था हो ।

















