काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरता सुनिश्चित गर्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन्।
प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा सरकार चुनाव गराउन प्रतिबद्ध रहेको स्पष्ट गर्दै निर्वाचन तयारीमा कुनै ढिलाइ नगर्न पनि आग्रह गरेकी छिन्।
उनले भनिन्, “हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनका लागि आएका हौँ। अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ।”
प्रतिनिधिमण्डलका नेता नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिएका छन्।
प्रधानमन्त्री कार्कीले नेम्बाङसँग निर्वाचनमा उठ्ने तयारीबारे जिज्ञासा राख्दा नेम्बाङले चुनावको तयारी भइरहेको जानकारी दिएका थिए।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले युवाको सहभागितामा जोड दिँदै भन्नुभयो, “तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ। पुरानो अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ। युवामा साहस, ऊर्जा र साहसिक कदम चाल्ने क्षमता हुन्छ।”
यसैबीच, नेम्बाङले इलाममा आएको बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुलको पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिइन्।


















