बागलुङ / बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा रु छ लाख १२ हजार सहयोग प्रदान गरिएको छ ।
गौतम परिवारको पहिरोका कारण गोठ पुरेको छ भने घर पहिरोको उच्च जोखिममा परेका कारण घर स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ । काँडेवासबाट रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली सहयोगीबाट सङ्कलित रकम मृतक गौतमको १२औँ दिनको पुण्यतिथिमा उनकै निवासमा पुगेर शनिबार गौतमको परिवारलाई हस्तान्तरण गरिएको काँडेवास सेवा समाज गलकोट समन्वय समिति काँडेवासका संयोजक मणिभद्र चालिसेले बताए ।
“दुःखमा सहयोग गर्नका लागि काँडेवास सेवा समाज गठन गरेका हौँ”, चालिसेले भने, “हस्तान्तरण गरिएको रकमले नयाँ घर बनाउन सहयोग मिल्नेछ ।” आर्थिक अवस्था कमजोर भएको परिवार पहिरोकै कारण स्तानान्तरण हुनुपर्ने अवस्था सिर्जन भएकाले सहयोग अभियान सञ्चालन गरिएको काँडेवास सेवा समाज जापानले जनाएको छ । काँडेवास सेवा समाज जापानद्वारा सङ्कलित गरिएको रकम गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मृतक सीता गौतमका दाजु पिताम्बर गौतमलाई हस्तान्तरण गरेका थिए


गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो । गौतमसँगै दुई भैँसी तथा एक बाख्रालाई समेत पहिरोले बगाएको थियो । आर्थिक अवस्था कमजोर भएको परिवारलाई राहतस्वरुप सहयोग रकम सङ्कलन गरी प्रदान गरिएको हो ।




















