पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले छानबिन गर्न कागजात नियन्त्रणमा लिएको छ ।

अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमितता भएको उजुरीलाई आधार मानेर छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए।

त्यसैगरी, यस वर्ष खरिद गर्न लागेका सामग्रीको समेत कागजात ल्याएर अनुसन्धान थालेको उनले बताए।

केही दिन अगाडि मात्रै अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा आर्थिक चलखेलको उजुरी आएकाले सोको कागजपत्र समेत नियन्त्रणमा लिने उनले बताए।

आइतबार नै कागजातहरू लिने भनिएता पनि प्रतिष्ठानका भिसी बुद्धिबहादुर थापा काठमाडौंमा रहेका कारण सोसम्बन्धी कागजात थापाले ल्याउने उनले बताए।

सामाजिक सेवा सञ्चालनका लागि अस्पतालले असार २३ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो भने चार वटा गैह्र सरकारी संस्थाले निवेदन दिएका थिए।

अस्पतालभित्र सामाजिक इकाई सञ्चालन गर्ने अधिकार अस्पतालका निर्देशकको हुने व्यवस्था बनाइएको छ।

अस्पताल व्यवस्थापन समितिलाई वेवास्ता गर्दै डिनको संयोजकत्वमा बनाइएको समितिमाथि आर्थिक चलखेल भएको उजुरी अख्तियारमा परेको उनले बताए।

अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका लागि असल छिमेकी सहयोगी संस्था गोनेसा, कोपिला नेपाल, कम्युनिटी सर्पोट ग्रुप र टिम लिडर लोकल अर्गानाइजेसन समेतले आवेदन दिएका थिए।

अस्पतालमै कार्यरत कर्मचारीहरू रहेको गैह्रसरकारी संस्था असल छिमेकी सहयोगी संस्था गोनेसालाई दिने निर्णय अस्पतालले गरेपछि उजुरी अख्तियारमा परेको थियो।

प्रकाशित मिति: आईतबार, साउन 

तपाईको प्रतिक्रिया