काठमाडौं । कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले शनिबार त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा सिंगापुरविरुद्ध ९ विकेटको सानदार जित पाएको छ । नेपाल शुक्रबार जिम्बावेसँग ५ विकेटले हार बेहोरेको थियो ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पारस पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्। यसअघि असार २८ मा मलेसियासँगको मैत्रीपूर्ण शृंखलामा पारसले सर्वाधिक ८६ रनको इनिङ्स खेलेका थिए। ट्वान्टी–२० क्रिकेटमा भने यसअघि यो कीर्तिमान महबुव आलमको नाममा थियो। उनले सन् २०११ को एसीसी ट्वान्टी–२० कपमा साउदी अरेबियाविरुद्ध ८८ रनको इनिङ्स खेलेका थिए।
कप्तान पारस र ओपनर आरिफ शेखबीच दोस्रो विकेटमा १ सय ४५ रनको अविजित साझेदारी भयो। यो पनि ट्वान्टी–२० क्रिकेटमा नेपाली ब्याट्सम्यानको कीर्तिमानी साझेदारी थियो। ओपनर इशान पाण्डे १।३ ओभरमा आउट भएपछि आएका पारस र आरिफबीच १४।३ ओभरमा १ सय ४५ रनको साझेदारी सम्भव भएको हो। कप्तानलाई राम्रो साथ दिएका आरिफले ३८ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडे।
यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो। कप्तान तिमोथीले अविजित ६४ रन जोडे। उनले ४४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सिनियर टिमबाट डेब्यु गरेका बलर सुशन श्रेष्ठको बलमा बोल्ड हुनुअघि सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३५ रन बनाए। जनक प्रकाशले पनि अविजित २५ रन बनाए। नेपालका करण केसीले २ विकेट लिए। शृंखलाअन्तर्गत नेपालले मंगलबार जिम्बावेसँग खेल्नेछ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।