विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्यूट) मा उपचारका लागि भर्ना हुने क्यान्सर बिरामीहरुका लागि यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने सम्झौता गरेको छ । यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले विराट मेडिकल कलेजसँग सम्झौता गरेको हो ।
निःशुल्क टिकट लिनका लागि विरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिच्यूटमा सम्पर्क गर्नु पर्ने सम्झौतामा शर्त राखिएको छ । अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कागजातहरुका आधारमा क्यान्सरको विरामी भएको प्रमाणपत्र÷परिचयपत्र उपलब्ध गराएपछि उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिच्यूटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिएका छन् । कार्कीले थप जानकारी दिँदै भने, ‘विरामीहरुले डाक्टरको ‘अप्वाइन्टमेन्ट’ लिनुहुँदा टिकट बुकिङ्गका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।’
त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एअरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको विरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एअरलाइन्स जानकारी दिएको छ । नेपालभरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एअरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच फाल्गुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी बिराट क्यान्सर इन्स्टिच्युटमा रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी, टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टिक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन हुँदै आएको छ । यसैगरी, प्रिभेन्टिभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविद्द्वारा परामर्श, मनोविदद्वारा परामर्शलगागयतका सेवा रहेका छन् ।
अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. मोना प्रियादर्शीनी, मेडिकल अंकोलोजिष्ट डा. सुलभ सापकोटा, अंको सर्जन डा. शिवराज शर्मा, डा.नरेन्द्र पण्डित, पेडियाट्रिक अंको सर्जन डा. हिरामणि पाठक,हेड एण्ड नेक अन्को सर्जन डा.राहुत महतो, अक्युलर अन्कोलोजिष्ट डा.प्रेरणा अज्र्याल काफ्ले, क्लिनिकल अंकोलोजिष्टद्वय डा. अस्मिता रायमाझी, डा. विवेक घोष, अंको रेडियोलोजिष्ट डा. मनिस पाठक, डा. भानुप्रताप शाहलगायतका चिकित्सकहरुको समूहले सेवा प्रदान गर्दै आइरहनु भएको छ ।