विराटनगर महानगरपालिका २ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर सोमबार राति मोरङको कटहरी गाउँपालिका १ जमटोकीका २१ वर्षीय करण कामतको हत्या भयो । घटनामा दुईजना घाइते भएका छन् ।

हत्याको कारण भने केटी जिस्क्याएको निहुँमा भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा विराटनगरका सोनु गिरी, ताप्लेजुङका दावा शेर्पा, भोजपुरका सञ्जय पुरी र विराटनगरकै एक जना नाबालक छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार बाटोमा हिँड्दै गरेकाहरूले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए। गम्भीर अवस्थाका कामतको भने उपचारका क्रममा मृत्यु भएको कार्कीले जानकारी दिए ।

घटनामा परी कटहरी १ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । घाइतेमध्ये रायको अवस्था गम्भीर छ । दुवै जनाको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बाटोमा हिँडिरहेको बेलामा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

‘घटना भएको स्थानमा आइतबार पक्राउ परेका एक जनाका आफन्त केटीसँग गफ गरेर बसेका रहेछन्,’ डीएसपी बस्नेतले भने, ‘कामत समूहका केटाले केटीलाई जिस्क्याएछन् । त्यही विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ कामत त्यो घटनामा भए नभएको यकिन भने नभएको प्रहरीले जनाएको छ ।

घटनाबारे विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया