काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेस गर्ने कार्यसूची तय गरिएको छ। उनले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। उनले आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अन्य तीन सदस्यको नाम प्रस्ताव गर्ने पनि तय गरिएको छ।

बैठकको अन्त्यमा संविधानसभा तथा पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

संविधानको धारा ९१ अनुसार सभामुख चयन प्रक्रिया पनि आजकै बैठकबाट सुरु गर्ने तयारी गरिएको छ। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार त्यसको कार्यतालिका प्रकाशन गर्ने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया