उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ कुसुण्डास्थित भित्री कच्ची सडकखण्डमा बिहीबार राति अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।
जलजलेबाट बलुवाटारतर्फ जाँदै गरेको प्र २–०१–००१ ह ०५९७ नम्बरको अटो राति करिब ११ बजे आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक त्रियुगा नगरपालिका–६ जलजलेका १८ वर्षीय प्रकाश गडेरी घाइते भएका छन् । दाहिने खुट्टामा सामान्य चोट लागेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
अटोमा सवार त्रियुगा नगरपालिका–५ बलुवाटारका ७३ वर्षीय भेलु सदा, ६० वर्षीय भुट्टाई सदा, ७३ वर्षीय रामकी सदा र ५७ वर्षीय श्यामबहादुर सदा पनि घाइते भएका छन् । उनीहरूको टाउको, हात, घुँडा, ढाड र कुममा चोट लागेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सामान्य अवस्थाका सबै घाइतेको देउरी अस्पताल उदयपुरमा उपचार भइरहेको छ । अटोलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


















