दुहबी, सुनसरी – सुनसरीको दुहबीमा बुधबार दिउँसो भएको स्कुटर दुर्घटनामा परी विराटनगरकी एक महिलाको मृत्यु भएको छ।
कोशी राजमार्गअन्तर्गत दुहबी नगरपालिका–८, पशुपति खाद्य उद्योगअगाडि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–०६० प २१२३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी विराटनगर महानगरपालिका–३ की ४२ वर्षीया खगमाया खरेलको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार, दुर्घटनापश्चात् घाइते खरेललाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारका क्रममा साँझ ७ बजे उनको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको खुल्न आएको छ। दुर्घटनाग्रस्त स्कुटर हाल प्रहरीको नियन्त्रणमा रहेको छ भने इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापाको नेतृत्वमा घटनाबारे थप अनुसन्धान भइरहेको छ।


















