सरकारले तलब लिन स्थायी लेखा नम्बर अर्थात् प्यान अनिवार्य गरेपछि सांसदहरूले धमाधम प्यान लिन थालेका छन्।

संघीय संसद सचिवालयले तलबका लागि प्यान नम्बर अनिवार्य भएको र नबुझाए तलब रोकिने भन्दै सूचनामार्फत् सांसदहरूलाई सचेत गराएको थियो।

‘आधा सांसदहरूसँग पहिला नै प्यान नम्बर रहेछ’, संघीय संसद सचिवालयका लेखा शाखा प्रमुख वसन्तराज सिग्देलले सेतोपाटीसँग भने, ‘केही सांसदहरूले भर्खरै आफ्नो प्यान नम्बर बुझाउनु भएको छ। केहीले बुझाउने क्रममा हुनुहुन्छ। बीस तीस सांसदले मात्र बुझाउन बाँकी छ।’

सिग्देलले धेरै जसो सांसदले प्यान नम्बर बुझाएको बताए पनि स्रोतका अनुसार अझै पचास प्रतिशत सांसदले स्थायी लेखा नम्बर बुझाएका छैनन्

‘आधा सांसदहरूले अझै प्यान नम्बर बुझाएको देखिँदैन’, सचिवालय स्रोतले भन्यो,‘कतिपय सांसदहरूले बल्ल कसरी प्यान नम्बर लिने हो भनेर सोध्दै हुनुहुन्छ।’

संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सांसदहरूलाई प्यान नम्बर लिने तरिका सिकाउन नोट समेत तयार पारेको छ।

प्यान नम्बरबारे बुझ्न जाने सांसदहरूलाई करदाता कार्यालयको वेबसाइटमार्फत् कसरी फारम भर्ने भन्ने सूचना सचिवालयले दिने गरेको छ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदहरूले प्यान नम्बर बुझाइरहेको सेतोपाटीलाई बताए।

‘केहीको बाँकी छ’, पाण्डेले भने, ‘सांसदका स्वकीय सचिव र ड्राइभरलाई समेत प्यान नम्बर लिन सूचना गरेका छौं।’

संघीय संसदमा अहिले ३ सय ३३ सांसद छन्।

सरकारी अधिकृत सरह तलब सुविधा पाउने स्वकीय सचिवले पनि तलब बुझ्न अब प्यान नम्बर बुझाउनुपर्नेछ।

‘झण्डै एक सय जति स्वकीय सचिवहरूले आफ्नो प्यान नम्बर बुझाउनु भएको छ’, पाण्डेले सेतोपाटीसँग भने, ‘अन्यले पनि बुझाउने क्रम जारी छ।’

यसैबीच सांसदहरूको साउन महिनाको तलब भत्तामा ढिलाइ हुने भएको छ।

सांसदहरूको तलब बढ्ने/नबढ्ने अझै निश्चित छैन। पदाधिकारीहरूको तलब बढाउने तयारी भए पनि राजपत्रमा अझै बढेको वृद्धिको सूचना प्रकाशित भएको छैन।

सांसदहरूको तलब वितरण भएपछि मात्र संघीय संसद सचिवालयका कर्मचारीहरूले तलब पाउँदै आएका छन्।

‘सभामुखसहित पदाधिकारी र सांसदहरूको तलबबारे टुंगो लाग्न बाँकी छ’, एक कर्मचारीले सेतोपाटीसँग भने, ‘त्यसपछि मात्र कर्मचारीले तलब खातामा जम्मा हुन सक्छ।’

तपाईको प्रतिक्रिया