नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका तर्फबाट प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुसाशन समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग परामर्श गरेका छन्।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब दुई घण्टा चलेको थियो। सरकारका तर्फबाट आउने महत्वपूर्ण विधेयकहरु राज्यव्यवस्था समितिमै जाने र त्यहाँ सत्तापक्षीय सांसदहरुबाटै चर्को आलोचना हुन थालेपछि अध्यक्षद्धयले समितिका सदस्यहरुलाई बोलाएर छलफल गरेका हु्न्। छलफल पार्टीको नितान्त आन्तरिक विषयमा केन्द्रित रहेको एक सदस्यले बताए। सेतोपाटीसँग कुराकानी गर्दै ती सदस्यले भने ‘समितिले राखेका छलफलहरुमा सत्तापक्षीय सांसदहरुकै मत बाझिन थालेको बिषयमा अध्यक्षहरुले जिज्ञासा राख्नुभएको थियो।’

उनले अध्यक्षहरुले एउटै पार्टीका सांसदहरुले उही विषयमा सकेसम्म फरक मत नआउनेगरी छलफल गर्न सुझाव दिएको बताए। संसदको राज्यव्यवस्था समितिमा लोकसेवा आयोगको विज्ञापन विषय, प्रहरीको गोली लागेर विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको निधन भएको विषय, निजामति कर्मचारी विधेयक, नेपाल प्रहरीको समायोजनसम्बन्धि विधेयकका विषयमा सत्तापक्षीय सांसदहरुले सरकारको कडा आलोचना गरेका थिए।

तर छलफलमा सहभागी नेकपाकी सांसद पम्फा भुषालले अध्यक्षहरुले त्यस्तो निर्देशन नदिएको बताएकी छन्। उनले प्रधानमन्त्री सिंगापुरबाट फर्किँदा आफूहरु एअरपोर्टमा लिन जान नपाएकाले आज समय लिएर स्वास्थ्य अवस्था बुझ्न गएको बताईन्।

यद्यपी राज्यव्यवस्था समितिकै अर्का सांसद झपट रावलले भने अध्यक्षद्धयले बोलाएर नै आफूहरु बालुवाटारमा गएको स्वीकारेका छन्। उनले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग पछिल्ला राजनीतिक घटनाक्रम र समितिमा रहेका पछिल्ला विधेयकहरुका बारेमा छलफल भएको बताए। उनले आफूहरुले अध्यक्षद्धयलाई पार्टी एकीकरण प्रक्रिया कहिले टुंगिन्छ भनेर सोधेको र उनीहरुले छिट्टै टुंगो लाग्ने जानकारी दिएको पनि बताएका छन्।

पछिल्लो समय राज्यव्यवस्था तथा सुशासन समितिले केही विधेयकहरु समितिमा छलफल गरेर पारित गरेको छ भने नागरिकतासम्बन्धी विधेयक करिब १ वर्षदेखि समितिमै अड्किएको छ। राज्यव्यवस्था समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृहमन्त्रालय, स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालय लगायत महत्वपूर्ण निकायहरु हेर्छ। २४ सदस्यीय समितिमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभापति शशी श्रेष्ठसहित नेकपाका १४ जना सदस्य छन्।

तपाईको प्रतिक्रिया