चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएकाे छ । बीबीसीका अनुसार बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको छ र उनको स्थिति स्थिर छ ।

उक्त व्यक्तिमा प्लेग भेटिएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेकाे बीबीसीले जनाएकाे छ । अधिकारीहरूले चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेका छन्।

बायान्नुरस्थित एउटा अस्पतालमा गएका ती व्यक्तिमा शनिवार प्लेग भएको आशङ्का गरिएको थियो। तर उनलाई कसरी सङ्क्रमण भयो भन्ने स्पष्ट छैन । ब्याक्टेरियाको सङ्क्रमणबाट हुने ब्यूबनिक प्लेग घातक बन्न सक्छ । तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव छ ।

तेस्रो तहको चेतावनी जारी भएपछि प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लगाइएकाे छ । सङ्क्रमण भएको शङ्का लागेमा अधिकारीहरूलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

विश्वमा बेलाबेलामा प्लेग देखा परिरहन्छ । सन् २०१७ मा म्याडग्यासकरमा ३०० जनाभन्दा बढी मानिसमा प्लेग भएको थियो ।

गत वर्ष मे महिनामा चीनको छिमेकी देश मङ्गोलियामा दुई जनाको प्लेगका कारण मृत्यु भयो । मार्मट नामक जङ्गली जीवको काँचो मासु खाएपछि उनीहरूलाई प्लेग भएको थियो ।

त्यहाँ मार्मटको काँचो मासु र मिर्गौला खाँदा स्वस्थ भइने लोकविश्वास भएको मङ्गोलियाको राजधानीमा कार्यरत विश्व स्वास्थ्य सङ्गठनका एक अधिकारीले बीबीसीलाई बताएका थिए। तर उक्त जीवको सिकार अवैध हो ।

मार्मटले प्लेग लगाउने सूक्ष्मजीव बोकेको हुन्छ र मङ्गोलियामा फेला परेका सङ्क्रमितहरूसँग यसको सम्बन्ध देखिएको छ।

प्लेग भएपछि लिम्फ नोड अर्थात् जसीका ग्रन्थिहरू सुनिन्छन् । सङ्क्रमण भएको तीन दिनदेखि सात दिनसम्म रुघाखोकीजस्तो समस्या देखिने हुँदा प्रारम्भिक चरणमा यो रोगको लक्षण चिन्न गाह्रो हुन्छ। तर ब्यूबनिक प्लेग महामारी बनेर फैलिने सम्भावना न्यून हुन्छ ।

“चौधौँ शताब्दीको तुलनामा अहिले यो रोग कसरी सर्छ भन्ने हामीलाई थाहा छ,” स्ट्यान्फर्ड हेल्थ केअरमा कार्यरत सङ्क्रामक रोग विशेषज्ञ डा. शान्ति काप्पागोडाले हेल्थलाइन नामक वेबसाइटलाई बताइन्।

“यसको रोकथाम गर्ने तरिका हामीलाई थाहा छ। हामी सङ्क्रमण भएका बिरामीको पनि प्रभावकारी एन्टीबायोटिक प्रयोग गरेर उपचार गर्न सक्छौँ।” चौधौँ शताब्दीमा उक्त रोगका कारण अफ्रिका, एशिया र युरोपमा झन्डै पाँच करोड मानिसको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया