मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइजिङ लिडर’ औपचारिक रूपमा चार्टर्ड हुने भएको छ। विश्वकै अग्रणी मानवीय सेवा संस्था Lions Clubs International अन्तर्गत स्थापित यस क्लबले सेवा, नेतृत्व विकास र युवा सशक्तीकरणलाई मुख्य उद्देश्य बनाएर आफ्नो यात्रा सुरु गर्ने भएकाे छ ।
नवनिर्मित क्लबको चार्टर्ड बुढीगंगा गाउँपालिकाका युवा समाजसेवी कोषराज खनालकाे नेतृत्वमा हुने भएको हाे । क्लबले स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म सामाजिक उत्तरदायित्व, मानवीय सेवा, नेतृत्व विकास तथा समुदायमुखी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
चार्टर्ड प्रमुख खनालले क्लबको स्थापना केवल अर्को संस्था थप्ने उद्देश्यले नभई युवालाई सेवामार्फत सक्षम र जिम्मेवार नेतृत्वमा रूपान्तरण गर्ने अभियानका रूपमा अघि बढाउने बताउनुभयो।
उहाँले भन्नुभयो, “हामी केवल कार्यक्रम गर्ने क्लब होइनौं, परिवर्तनको नेतृत्व गर्ने क्लब बन्न चाहन्छौं। समाजका हरेक समस्याप्रति संवेदनशील, जिम्मेवार र समाधानमुखी युवाको समूह तयार गर्नु नै हाम्रो लक्ष्य हो। सेवा, नेतृत्व र इमानदारिताको माध्यमबाट नयाँ पुस्तालाई राष्ट्र निर्माणमा सक्रिय बनाउने अभियानमा हामी अघि बढ्ने छौं।”
बुढीगंगाबाट सुरु हुने यस अभियानले युवामा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्नुका साथै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, रक्तदान, वृक्षारोपण तथा विभिन्न मानवीय सेवामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
स्थानीय युवाको सक्रिय सहभागितासहित स्थापना हुने ‘लायन्स क्लब अफ राइजिङ लिडर’ ले बुढीगंगालाई सेवामूलक र नेतृत्व विकासका गतिविधिको केन्द्रका रूपमा स्थापित गर्दै समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।























