पश्चिम चितवनको भुवन वस्तीमा रोयल सासा फर्मासिटिक्यूल्स औषधी उद्योग सञ्चालनमा आउने भएको छ । आगामी दुई वर्ष भित्र विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डको जिएपी प्रमाणीकरण पाउने गरी उद्योग सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

झन्डै ५० करोड रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको उद्योगले हाल २७ प्रकारका औषधीहरु उत्पादन परीक्षण शुरु गरिसकेको छ । विदेशबाट आउने औषधीलाई कम र देशमै गुणस्तरीय र सर्वसुलभ पहुंँच पुर्‍याउन उद्योग सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्राविधिक सल्लाहकार राजेन्द्र प्रसाद चौधरीका अनुसार कम्पनीले मेडिकल जन्य २४ प्रकारका औषधीहरु उत्पादन गर्ने र त्यसमध्य एन्टीबायोटिक औषधीलाई पहिलो चरणमा र ट्याब्लेट, क्याप्सुल, मल्हम, पूर्वाधार मेशीनरी लगायत अन्यलाई दोस्रो चरणमा उत्पादन गर्ने लक्ष्य लिएको बताए । उनले बजारको माग अनि आवश्यकता अनुसार नै क्षमतालाई थप विस्तार गर्ने समेत जानकारी दिए ।

त्यस्तै, कम्पनीका क्वालिटी कन्ट्रोल म्यानेजर उत्सव नेपालले अत्याधुनिक प्रविधिको मेसिन जडान गरी औषधी उत्पादन गर्दै आएको बताएका छन् । यता, कम्पनीका सिनियर फर्मासिट जीतेन्द्र यादवका अनुसार कम्पनीले एक हप्ताभित्र ६ वटा प्रकारको औषधी बनाइसकेको र यस्को परीक्षण उत्पादनको समयावधि छ महिनाको हुने, त्यसपछि गुणस्तरत्मक असर नपरेपछि मात्रै व्यवसायिक उत्पादन गरिने बताए ।

झन्डै १२ कट्टा क्षेत्रफलमा सञ्चालन ल्याउन लागिएको उद्योगमा हाल चितवन लगायत ९ जना औषधी व्यवसायीहरुले संँयुक्त लगानी गरेको छ । अहिले उद्योगले बार्षिक क्षमता १५ करोड ट्यावलेट, ५० लाख क्याप्सुल, ५० लाख ट्युव मल्हम, ६० लाख पुरीया जीवनजल, २५ लाख बोतल ड्राई सिरफ उत्पादन गर्न सक्ने छ ।

त्यस्तै, नाक, कान घाँटी, मधुमेह, मुटु रोगको औषधी उत्पादन गर्ने लक्ष्य लिइएको कम्पनीले सुईजन्य औषधी र आँखा रोगको समेत औषधि उत्पादन गर्ने जनाएको छ । उद्योग बिस्तार भएसंगै झण्डै डेढ सय जना लाई रोजगारी दिने कम्पनीले जनाएको छ । अहिलेसम्म उपकरण लगायतमा २५ करोड लगानी भइसकेको छ ।

3 Attachments

तपाईको प्रतिक्रिया