कोरोना संक्रमण्को कारण बिराटनगरमा एक महिलाको मृत्यु भएको छ ।
विराटनगर –१५ मिल्स एरिया घर भए पनि विराटनगर–११ माइत बस्दै आएकी ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।
मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार राति ८ बजे ४४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले बताए ।
श्वासप्रश्वासमा समस्या देखिएकोपछि उनलाई मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको पनि राठौरले जानकारी दिए । उनका अनुसार ‘सुरुमा श्वासप्रश्वासमा समस्या भयो भनेर ल्याइएको उनलाई आकस्मिक कक्षमा राखेर उपचार थालिएको थियो र ‘रिपोर्ट पोजेटिभ आउन साथ शिक्षण अस्पतालकै आइसोलेसनमा भर्ना गर्न नपाइकन महिलाको आकस्मिक कक्षमै मृत्यु भएको हो ।’

केही दिनदेखि ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी महिलामा निमोनियाको पनि समस्या थपिएको पाइएको विराटका कोभिड फोकल पर्सन तथा छात्ती रोग विशेषज्ञ डा. पुरु कोइरालाले बताए । ‘बिरामीको अवस्था गम्भीर रहेकाले आइसोलेसनमा नलगिकन तत्काल आकस्मिक कक्षमै उपचार थालिएको तर ‘थप समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राख्ने तयारी हुँदै गर्दा महिलाको मृत्युु भएको कोइरालाले बताए ।’


कोइरालाका अनुसार भर्ना गर्नुअघि बिरामीका आफन्तले लक्षण मिलेकाले कोरोना परीक्षणका लागि स्वाब दिएको थिए । तर कोरोनासँग मिल्ने लक्षण देखिँदा पनि उपचारमा ढिलाई हुने भएकाले आइसोलेसनमा नराखिकन तत्काल आकस्मिकबाटै उपचार थालेर अन्तिम प्रयास गर्दासमेत बिरामीलाई बचाउन नसकिएको डा कोइरालाको भनाइ छ ।
विराट शिक्षण अस्पतालले बिहीबारदेखि संक्रमितको उपचार गर्ने गरी ६० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् ।

तपाईको प्रतिक्रिया