बिराटनगर अवस्थित गोल्डेन अस्पतालमा बिहिबार खुट्टा भाँचिएको विरामीको उपचार गर्दा गर्दै मृत्यु भएको छ । दुर्घटनामा परी दाँया खुट्टा भाँचिएको विराटनगर–७ का ५२ वर्षीय जनक सिंह बस्नेतको बिहीबार ७ बजे मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।

बिहीबार दिउँसो १ बजेतिर मिलन चोकबाट पैदल हिँडेर घर जाँदै गरेका बस्नेतलाई ना ७ छ ३१३ नं। को ग्याँस बोक्ने कन्टेनरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका बस्नेतलाई उपचारका लागि गोल्डेन अस्पतालको आकस्मिक कक्षमा राखिएको थियो । पछि थप उपचारको लागि आईसियूमा भर्ना गरियो । दिउँसो सामान्य अवस्था रहेपनि साँझ सिकिस्त भएकाले अस्पतालले तत्काल रगत लिएर आउन भनेको र रगत लिएर आइपुगदा मृत्यु भइसकेको चिकित्सकहरुले बताएको मृतकका दाजु पुष्पराज बस्नेतले जानकारी दिए ।

मृतकको दाजुले हस्पिटल र चिकित्सकको लापरवाहीले भाइको मृत्यु भएको आरोप लगाएका छन् ।
उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाही गरिनुपर्ने माग राखेका छन् । ‘उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाहीको लागि स्थानीय प्रशासनले छानविन टोली गठन गरिनु पर्दछ,’ मृतकका दाजु पुष्पराजले भने ।

विरामीको मृत्यु भएपछि अस्पताल तोडफोड हुन नदिन मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

यस अघि गत साउन १८ गते मोरङको धनपालथान गाउँपालिका–६ का अमहद हुसेनको पनि गोल्डेन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । पिलोको उपचार गर्दा चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै कर्मचारीलाई कुटपिटसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया