नेपालमा कोरोनाविरुद्वको खोप लगाएका व्यक्तिहरुमा कोभिड संक्रमण भएपनि गम्भिरखालको संक्रमण नदेखिएको र मृत्यु संख्या पनि कम रहेको पाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोनाविरुद्वको पूर्णमात्रा खोप लगाएका व्यक्तिमा कोरोना पोजेटिभ हुँदा गम्भीरखालका असरहरु देखा नपरेको बताउनुभयो । मुत्यु संख्या पनि नगण्य रहेको उहाँको भनाई छ । अस्पतालले दिएको जानकारीअनुसार खोप लगाए पछि संक्रमण भएकाको मृत्यु संख्या कम रहेको उहाँले बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले अस्पतालमा आउने कोभिडविरुद्वको खोप लगाएका विरामीहरुको अवस्था अहिलेसम्म गम्भीर नभएको बताउनुभयो ।

अस्पतालमा उपचारका लागि आउनेहरुमा खोप लगाएकाहरु पनि आएकाले खोपले मात्र कोरोना संक्रमण नरोक्ने उहाँले बताउनुभयो । “अस्पतालमा आउने कोभिडका बिरामीहरुमा कोभिडविरुद्वको पूर्ण खोप लगाएकाहरु पनि छन्, यसकारण कोभिडविरुद्वको खोपले संक्रमण रोक्छ भन्ने हुदैन” उहाँले भन्नुभयो “तर, खोप लगाएकाहरुमा गम्भीरखालको समस्या भने आएको छैन ।” खोप लगाएकाहरुमा संक्रमण भएपनि मृत्युहुने सम्भावना निकै कम भएको उहाँको भनाई छ ।

टेकु अस्पतालमा कोभिड भएर आउनेहरुमा खोप लगाएका ३० देखि ४० प्रतिशत रहेको बास्तोलाले बताउनुभयो । खोप लगाएका कोभिडका बिरामीहरुको निको हुने समय पनि कम रहेको देखिएको उहाँले जानकारी दिनुभयो ।

यता, त्रिवि शिक्षण अस्पतालमा पनि खोप लगाएका विरामीहरु ३० देखि ४० प्रतिशतका दरले आउनेगरेको डा. निरज बमले बताउनुभयो । खोप लगाएका कोरोना संक्रमितहरुमा गम्भीरखालको लक्षण भने नदेखिएको उहाँको भनाइ छ । खोप नलगाएकाको तुलनामा खोप लगाएका व्यक्तिहरुमा गम्भीरखालका समस्या देखिएन बमले भन्नुभयो ।

नेपालमा संक्रामक रुपमा रहेको डेल्टा भेरियन्टका कारण खोप लगाएकाहरु पनि संक्रमित भएको हुनसक्ने उहाँको भनाई छ । त्रिवि शिक्षण अस्पतालमा आउने संक्रमितहरुमध्ये खोप लगाएकाहरुको मृत्यु कम रहेको बमले बताउनुभयो ।

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण भएकाहरुमध्ये खोप लगाएकाको संख्या मात्र १३ प्रतिशत रहेको बताउनुभयो । हालसम्म नेपालमा पीसीआर रिपोर्टमा पोजेटिभ भएका सात लाख ६२ हजार चार सय १६ जनामध्ये १३ प्रतिशतले मात्र खोप लगाएको उहाँले बताउनुभयो ।

देशभरका विभिन्न प्रयोगशालाले दिएको जानकारीका आधारमा यो प्रतिशतको संख्या निर्धारण गरिएको उहाँले बताउनुभयो । खोप प्राप्त गर्नेमा कोरोना संक्रमण नभएका ८७ प्रतिशत देखिएको पौडेलले बताउनुभयो । “गम्भीरखालको लक्षण नदेखिएसम्म पीसीआर परिक्षण गर्न नगएको देखिन्छ यसकारण पनि खोप लगाउनेहरुमा कोरोना संक्रमण भएकाहरु धेरै हुन सक्छन्” उहाँले भन्नुभयोे ।

तपाईको प्रतिक्रिया