विराटनगरको गोल्डेन अस्पतालले तीन दिनदेखि बन्धक बनाएर राखेका एक जना बिरामीले  शुक्रबार बिहान आत्महत्याको प्रयास गरेका छन् ।

प्रहरीका अनुसार उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालको तीन तला माथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । उपचारका लागि गोल्डेनमा भर्ना भएका मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डल अस्पतालको तीन तलामाथिबाट हामफालेर गम्भीर घाइते भएका छन् ।

हामफालेपछि टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका उनी बोल्न सक्दैनन् ।

अस्पतालको बन्धनमा रहेका कारण घर जान नपाएका उनले अचानक बिहान ६ बजेतिर हामफालेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

घर जान नपाएको तनावमा बिरामीले अस्पतालबाट हामफालेर आत्महत्या गर्न खोजेको हुनसक्ने उनको भनाइ छ । घटनाका बारेमा अनुसन्धान थालेर थप कुरा बुझ्ने प्रयास भइरहेको जानकारी डिएसपी श्रेष्ठले दिए ।

 

 

तपाईको प्रतिक्रिया