स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवति महिलाहरुलाई कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले पहिलो तीन महिना कटिसकेका सबै गर्भवति महिलाहरुलाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन्।

उनले भने,‘गर्भवतिलाई खोप दिन सुरु भईसकेको पनि छ। खोप नलगाएका पहिलो तीन महिना कटेका सबै महिलालाई नजिकैको खोप केन्द्रमा गई खोप लगाएर आफुलाई सुरक्षित राख्न अनुरोध छ।’

उनले नेपालमा उपलब्ध खोपमध्ये कुनै पनि खोप लगाउन सकिने बताए। नेपालमा हाल अक्सफोर्ड एस्ट्राजेनेका, कोभिसिल्ड, भेरोसेल, फाइजर र मोडर्ना खोप उपलब्ध छ। निर्देशक लालले हाल कोभिसिल्ड र भेरोसेल खोप पर्याप्तm रहेको बताए।

फाइजर र मोडर्ना भने सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाउने निर्णय गरिसकेको छ।

उनले पछिल्लो समय कोरोना विरुद्धको खोपको अभाव नभएको र आगामी दिनका लागि खोप सुनिश्चिता भई सकेको भन्दै कुनै शंका नमानि खोप लगाउन आग्रह गरे।

खोपको उपलब्ध हेरी सरकारले कोरोना विरुद्धको खोप अभियान रणनीति परिवर्तन गरी १८ वर्ष माथिका सबैलाई खोप सुरु गरेको निर्देशक लालले बताए।

उनले १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकाका लागि फाइजर र मोडर्ना खोप आउन लागेकोले सबै विद्यालयमा खोप केन्द्र राखि अभियान संचालन गरिने बताए।

उनले भने,‘आगामी केही दिन भित्रै अभियान खोप अभियान संचालन गर्न पूर्व तयारी गरिरहेका छौँ। त्यस समयमा सबैले सहयोग गर्नुहोला।’

तपाईको प्रतिक्रिया