श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)सँग आग्रह गरेका छन् ।

आईओएमका मिसन प्रमुख लोरेना ल्यान्डोसँग मन्त्रालयमा हिजो भएको भेटमा उनले खोपको लागि आग्रह गरेका हुन् ।

यस्तै उनीहरुबीच आप्रवासी नेपाली श्रमिकको क्षेत्रमा आईओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा पनि भयो ।

मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आईओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे ।

वैदेशिक रोजगारीमा गई नेपाल फर्केका श्रमिकहरुले आर्जन गरेका सीप र पुँजीको परिचालनका लागि मन्त्रालयले गरेका प्रयासमा आईओएमले सहयोग गरेको चर्चा गर्दै मन्त्री श्रेष्ठले पाँच वर्षे रणनीतिमा उल्लेख गरिएका विषय कार्यन्वयन गर्न मन्त्रालय र आईओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले मन्त्रालय र आईओएम नेपालबीच आगामी पाँच वर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गरे ।

तपाईको प्रतिक्रिया