मोरङ / मोरङको बूढीगंगा गाउँपालिका–२ टंकिसिन्वारीमा  सञ्चालन रहेको सुन पसल  वन्द गरेर फरार भएका गणेश लक्ष्मी ज्वेलर्सका सञ्चालकलाई प्रहरीले विराटनगर महानगरपालिका–४ बाट पक्राउ गरेका छन्  ।

पक्राउ पर्नेमा ३६ वर्षीय जितेन्द्र साह स्वर्णकार रहेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । श्रेष्ठका अनुसार साहले विभिन्न मिति र समयमा नक्कली सुनका गहनालाई सक्कली सुन भन्दै बिक्री गर्ने गरेको खुलेको छ ।

पछिल्लो समय साहले खड्गबहादुर श्रेष्ठलाई नक्कली सुनका दुईवटा बाला, दुईवटा औंठी, एउटा बेरुवा औंठी, सातवटा टप, १० वटा कुण्डल र जुलीसमेत सक्कली सुनको हो भन्दै ठगी गरेको जानकारी श्रेष्ठले दिए । उनकाअनुसार श्रेष्ठसँग साहले तत्काल एक लाख ४० हजार रुपैयाँ लिएको पनि खुलेको छ ।

तेस्तै गरेर ज्वेलर्स सञ्चालक साहले विभिन्न समयमा आठ जनामाथि आठ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरी  पसल वन्द गरेर फरार रहेको     प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  परीक्षणका क्रममा सुनका गहना भनेर बिक्री गरिएका वस्तु सुनको नभएको खुलेको डीएसपी श्रेष्ठले बताए । उनकाअनुसार साहका विरुद्ध हालसम्म आठ जनाले उजुरी दिएको र अन्य उजुरी आउने क्रम जारी छ । उनी विरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया