उर्लाबारी / उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा ताला लगाएका छन् । मन्त्रालयले मागेको कागजात पठाउने विषयमा विवाद भएपछि उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीको क्वार्टरमा नगरप्रहरी प्रयोग गरी ताला लगाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मागेको कागजात पठाउने विषयमा पाँच दिनअगाडि प्रमुख फागो र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो । विवादपछि आफूलाई असुरक्षित महसूस गर्दै अधिकृत रेग्मीले उर्लाबारी छाडेका थिए । नगरपालिकाका उपमेयर लक्ष्मी भण्डारी क्वार्टरमा रेग्मीको परिवार रहेकै अवस्थामा ताला लगाएको आफूले जानकारी पाएको बताइन् । नगर प्रमुख खड्ग फागो भने प्रमुख प्रशासकिय अधिकृतले क्वाटर छाडेपछि सुरक्षाकालागि ताला लगाएको बताउँछन् । कार्यलय नआएको विषयमा स्पष्टिकरण सोध्दा सामान्य भनाभन भएको उनले बताए ।

आफु असुरक्षित भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले आफ्ना लागि सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । प्रमुख फागोका कारण आफू असुरक्षित भएको भन्दै उर्लाबारी छाडेका रेग्मीले जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा माग्दै निवेदन दिएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत रेग्मीले उर्लाबारीमा आफूमाथि थ्रेट भएको विषयमा सुरक्षा निकायलाई जानकारी गराएको बताएका छन् ।

कांग्रेसबाट निर्वाचत प्रमुख खड्ग फागो र नेकपाबाट निर्वाचित उपप्रमुख लक्ष्मीदेवी भण्डारीबीचको विवादका कारण नगरको काम प्रभावित भएको एक महिना पुग्यो । २९ असारमा उर्लाबारी नगरपालिकाको चौथो नगरसभा भएको थियो । १९ जना कार्यपालिका सदस्य रहेको नगरमा प्रमुख खड्ग फागोसहित नेपाली कांग्रेसका ६ जना सदस्यले निर्णय गरी चौथो नगरसभा डाकेका थिए ।

नगरकार्यपालिकामा नेकपाको १३ सदस्य छन् । तर, कांग्रेसबाट निर्वाचितहरूले अल्पमतका आधारमा एकलौटी रूपमा नगरसभा गरेको दाबीसहित उपप्रमुखसहित १३ जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्चले गत साउन २७ गते नगरसभाको निर्णय कर्यान्यन नगराउन आदेश दिएको थियो । अढाई करोड भन्दाबढी रकम प्रमुख फागोले आफूखुशी खर्च गरेको दाबी गर्दै उपप्रमुखले नगर कार्यपालिकाको बैठकमा जवाफ मागेपछि विवाद बढेको हो ।

तपाईको प्रतिक्रिया