नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर नेपाली काँग्रेस फसेको बताएका छन् ।
संसदमा छानविन गर्नका लागि दक्ष जनशक्तिकै अभाव भएकाले पनि नेपाली काँग्रेसले सो विषयलाई न्यायिक जाँचबुझ आयोग बनाएर सुनकाण्डमा जसरी छानविन गर्ने माग गरेको भए उपयुक्त हुने उनको जिकिर थियो ।
मंगलवार संघीय संसद भवन परिसरमा सचिव भट्टराईले सञ्चारकर्मीहरुमाझ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको निष्कर्ष कसरी निकालेको ? भनेर पनि काँग्रेसलाई प्रश्न गरे ।
अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा त्यस्तै कुनैपनि निकाएले छानविन नगरी गृहमन्त्रीमाथि दोषी करार काँग्रेसले गर्न नमिल्ने उनको भनाई थियो ।
सचिव भट्टराईले छानविनको क्रममा पुष्टि भए उहाँ पनि कारबाहीको भागिदार हुने पनि बताए ।
उनले संसदमा काँग्रेसले असंसदीय आचरण प्रर्दशन गरिरहेको आरोप पनि लगाए ।






















